दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमाको स्ववियु चुनावमा नेविसंघ विजयी

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का भुवन महरा नेतृत्वको प्यानलले विजय भएको छ ।

महरा ४४१ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी बम बहादुर बिश्वकर्माले ३७८ मत प्राप्त गरे । बिश्वकर्मा अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन–संयुक्त प्यानलबाट उम्मेदवार थिए ।

महरा यस अघि पनि सभापति पदमा निर्वाचित भइसकेका थिए, र यो उनको दोस्रो कार्यकाल हो । सचिव पदमा नेविसंघकी उम्मेदवार ज्योति साहु ४७४ मत प्राप्त गर्दै विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी गणेशनाथ योगीले ३२६ मत पाए ।

त्यस्तै, कोषाध्यक्ष पदमा नेविसंघकी सोनिया शाह ४४५ मत सहित निर्वाचित हुँदा, प्रतिस्पर्धी दीपिका जोशीले ३५१ मत प्राप्त गरिन् । सदस्य पदतर्फ पनि अधिकांश स्थानमा नेविसंघका उम्मेदवार विजयी भएका छन् । निर्वाचनमा कुल ८३१ मत खसेको थियो ।

विजयपछि बोल्दै महराले स्ववियुमा पारदर्शिता, उत्तरदायित्व र विद्यार्थीका हक अधिकार सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताए । उनले विगतका अधुरा कामहरूलाई निरन्तरता दिँदै क्याम्पस सुधारको अभियान अघि बढाउने कुराहरूमा आफु प्रतिबद्ध रहेको समेत बताए । जितसँगै दुर्गालक्ष्मी क्याम्पसमा नेविसंघको पकड अझ सुदृढ भएको मानिएको छ ।

Loading...