दुर्गालक्ष्मी माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको प्रदेश प्रमुख द्वारा उद्घाटन, ३३ पिन्ट रगत सङ्कलन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–२, अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० औँ वार्षिकोत्सवका अवसरमा स्वर्ण महोत्सवको आयोजना गरेको छ ।

विद्यालयको ऐतिहासिक यो क्षणलाई विशेष बनाउने उद्देश्यले आयोजना गरिएको तीनखदिने स्वर्ण महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले एक विशेष समारोहका बीच गरेका हुन । उद्घाटन कार्यक्रममा उनले विद्यालयको पाँच दशक लामो शिक्षायात्राको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने दिशामा लाग्न आग्रह गरे ।

कार्यक्रममा स्वर्ण महोत्सव स्मारकको अनावरण गरिनुका साथै ‘दुर्गालक्ष्मी स्मारिका’को विमोचन पनि गरिएको छ । उक्त स्मारिकामा विद्यालयको स्थापना, इतिहास, प्रगति यात्रा, पूर्व विद्यार्थीको अनुभव, हालका उपलब्धि तथा भावी योजनाहरू समेटिएका छन् ।

स्वर्ण महोत्सवलाई भव्य बनाउँदै तीन दिनसम्म विविध कार्यक्रमको आयोजना गरिएको छ । यस अवसरमा विद्यार्थीहरूबीच शैक्षिक प्रदर्शनी, सांस्कृतिक प्रस्तुति, खेलकुद प्रतियोगिता, वक्तृत्वकला तथा कविता वाचन जस्ता कार्यक्रमहरू सञ्चालन हुनेछन्। स्वर्ण महोत्सवको अवसरमा रक्तदानको समेत आयोजना गरेको छ ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय सरकार तथा समाजका अगुवाहरूको सक्रिय सहभागितामा महोत्सव सफल बनाउने लक्ष्य लिइएको छ । विद्यालयका प्रधानाध्यापकले स्वर्ण महोत्सवलाई शिक्षामार्फत समाज रूपान्तरणको अभियानका रूपमा पनि प्रस्तुत गरेका छन् । उक्त अवसरमा स्थानीय समुदाय, अभिभावक, पूर्व विद्यार्थी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको छ ।

विद्यालयको स्वर्ण महोत्सवमा ३३ पिन्ट रगत सङ्कलन


दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाइटी अत्तरिया उप शाखाको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

उक्त रक्तदान कार्यक्रमबाट ३३ पिन्ट रगत सङ्कलन भएको अत्तरिया रेडक्रस उप शाखा अध्यक्ष भरत खड्काले जानकारी दिए । रक्तदान जीवनदान मूल नाराका साथआयोजित रक्तदान कार्यक्रममा स्वर्ण महोत्सवमा सहभागी पूर्व विद्यार्थी, शिक्षक,युवाहरु, महिलाहरु लगायत विद्यार्थीहरुले समेत रक्तदान गरेका थिए ।

Loading...