

प्रधानमन्त्री केपी शर्मा ओली नेकपा (एकीकृत समाजवादी) को कार्यालय पुगेका छन् । नेकपा (एमाले) बाट फुटेर माध वकुमार नेपालको नेतृत्वको २०७८ भदौमा गठन भएको एकीकृत समाजवादीको कार्यालयमा प्रधानमन्त्री ओली सोमबार पुगेका हुन् ।




यस अघि ओली एकीकृत समाजवादीको कार्यालयमा पुगेका थिएनन् । सोमबार प्रधानमन्त्री ओली एकीकृत समाजवादी कार्यालय पुग्दा त्यहाँ हालै एमालेले पार्टीबाट निकालेका पूर्वउपाध्यक्ष भीम रावल पनि सँगै देखिएका थिए ।


प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले एकीकृत समाजवादीको कार्यालय अवलोकनसमेत गरेका छन् । चैत १५ गते राजसंस्था पुनर्स्थापनाको माग सहित दुर्गा प्रसाईंको आह्वानमा भएको प्रदर्शनपछि एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आगजनी समेत भएको थियो ।
एकीकृत समाजवादीका नेता कमल कोइरालाको निधन भएको र शव पार्टी कार्यालय आलोकनगरमा राखिएकोले श्रद्धाञ्जली दिन प्रधानमन्त्री ओली पुगेका हुन् । त्यस अवसरमा प्रधानमन्त्री ओलीले एकीकृत समाजवादीको कार्यालय अवलोकन समेत गरेका छन् ।

