पत्रकार माथि कुटपिटको घटना: महासंघद्वारा दोषीलाई कारबाहीको माग

धनगढी- समाचार लेखेको भन्दै कुटपिटमा परेका पत्रकार प्रकाश मिश्रसंग नेपाल पत्रकार महासंघ कैलालीले छलफल गरेको छ । कुटपिटपछि घाइते पत्रकार मिश्रसंग नेपाल पत्रकार महासंघ कैलालीको टोली सुखड पुगेर घटनाबारे जानकारी लिएको हो ।

सुखडमा हाइवे क्षेत्रका पत्रकारहरुसंग समेत नेपाल पत्रकार महासंघ कैलाली शाखाले छलफल गरेको छ । छलफलको क्रममा पीडित पत्रकार मिश्रले दोषीलाई कारवाही हुनु पर्ने बताए ।

Navadurga sun

“समाचार लेखेकै कारण म माथी कुटपिट भएको छ” पत्रकार मिश्रले छलफलमा भने, “यस्तालाई कडा कारवाही हुनुपर्छ । दोषीलाई कारवाहीका लागि महासंघले साथ दिनुपर्छ ।” नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले समाचार लेखेकै भरमा पत्रकार माथी कुटपिट हुनु दुखद घटना भएको बताए । “समाचारमा विमती भए कानुनी प्रकृयामा जाने बाटो खुला हुँदाहुँदै पत्रकार माथी भौतिक आक्रमणमा उत्रिनु गलत हो“ देउवाले भने, ”पत्रकार माथी आक्रमण गर्नेलाई कानुनी कठघरमा उभ्याउनु जरुरी छ ।”

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष योगेश रावल, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका सदस्य भिम बहादुर चौधरी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जमुना न्यूरेका साथै मसुरिया, पहलमानपुर, सुखड, बौनिया, जोशीपुरका पत्रकारहरुको छलफलमा सहभागिता रहेको नेपाल पत्रकार महासंघ कैलालीका कार्यसमिति सदस्य बिरेन्द्र शाहले जानकारी दिएका छन् ।

धनगढीबाट प्रकाशित अनुमोदन दैनिकमा चैत ४ गते मिश्रको बाइलाइलनमा कैलालीको सिमली जंगलमा विदेशी नागरिकको रहस्यमय जमघट शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

उक्त समाचारलाई लिएर घोडाघोडीमा रहेको ओजुवा क्याफेका संचालक डबल बहादुर शाह र पहलमानपुरमा रहेको सिर्जना होटेलका संचालक चेत बहादुर सिंहले घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा कुटपिट गरेको पीडित पत्रकार मिश्रले महासंघलाई जानकारी गराएका थिए ।

पत्रकार मिश्रले इलाका प्रहरी कार्यालय सुखडमा किटानी जाहेरी दिएका छन् भने पिडक डबल बहादुर शाह प्रहरी थुनामा रहेका छन् भने चेत बहादुर सिंह फरार रहेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...