

धनगढी- नेपाली काँग्रेसका केन्द्रीय नेताहरू राखेर धनगढीमा प्रदेशको छलफल भएको छ । प्रदेशको आगामी बजेट, प्रदेश सरकार र पार्टी बिचको समन्वय बढाउने गरी नेपाली काँग्रेसले धनगढीमा छलफल गरेको हो ।


पार्टीका उपसभापति पूर्ण बहादुर खड्का र प्रदेश सभापति वीर बहादुर बलायरले बुधवार बिहान ओम पार्टी प्यालेसमा सुदूरपश्चिम काँग्रेसका जिल्ला सभापतिहरू, प्रदेश सांसद, मन्त्री र मुख्यमन्त्रीलाई एकै ठाउँमा राखेर आगामी बजेट, पार्टी र सरकारका विषयमा छलफल गरेका हुन् ।


पार्टी र सरकारका बीचमा केही समस्या हुन थालेको गुनासो प्रदेश सांसद र काँग्रेसका नेताहरूले गरेपछि प्रदेश सभापति बलायरले सबैलाई एकै ठाउँमा राखेर छलफल गराएका थिए । प्रदेश सभापतिसहितका पदाधिकारी, मुख्यमन्त्री, मन्त्री र प्रदेश सांसदहरू छलफलमा थिए ।


पार्टी र सरकारबिचको समन्वय अझै बलियो बनाउने, अनपेक्षा अनुसारको बजेट तयार गर्ने, सरकार सञ्चालन गर्दा उत्पन्न हुनसक्ने समस्याहरू छलफल र संवादबाट टुङ्गो लगाउने लगाएको विषयमा काङ्ग्रेसभित्र सहमति भएको छ। काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामी, मुख्यमन्त्री कमल बहादुर शाह, पार्टी प्रदेश सभापति वीर बहादुर बलायर र केन्द्रीय उपसभापति पूर्ण बहादुर खड्का लगायतले धारणा राखेका थिए ।
प्रमुख सचेतक धामीले यसअघिको बजेटमा केही असन्तुष्टि जनाउँदै आगामी बजेट सबैलाई समेट्ने ढङ्गको आउनु पर्ने बताए । मुख्यमन्त्री शाहले केही समय अघि आफूसँग काम गर्न अप्ठ्यारो भए मन्त्री राज्यमन्त्रीलाई राजीनामा दिन र कर्मचारीलाई सरुवा लिन भनेका थिए ।
बुधवारको छलफलमा काँग्रेस प्रदेश महामन्त्री मनु शाहले त्यस विषयमा पार्टीमा छलफल गर्नुपर्ने धारणा राखेका थिए । ‘मुख्यमन्त्री ज्यूलाई कहाँ–कहाँबाट समस्या पैदा भएको हो ? यस्तो कुरा पार्टीको बैठकमा राख्दा हुन्छ’ शाहले विषय प्रसङ्ग उठान गरेका थिए ।
मुख्यमन्त्री शाहले आफ्नो कार्यकालमा सुशासनको पाटोमा केही महत्त्वपूर्ण कामहरू भएको बताएका छन् । उनले कर्मचारी अभावका कारण प्रदेश सरकारलाई सबैभन्दा धेरै समस्या सृजना भइरहेको टिप्पणी गरे ।
उपसभापति खड्काले सरकार सञ्चालनका बेला केही समस्या उत्पन्न भए गठबन्धनमा छलफल गरेर अगाडि बढ्नु पर्ने बताए । ठूला समस्या आएमा केन्द्रीय गठबन्धनले पनि त्यसको हल गर्ने उनले बताए । सरकार सञ्चालनमा अनावश्यक हस्तक्षेप नगर्न भन्दै खड्काले पार्टी र सरकार बिच सहज वातावरण हुनुपर्ने बताए । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमल बहादुर शाह नियुक्त हुँदा देखि नै काँग्रेसमा विवाद रहेको छ ।

