सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा र हिमपात

सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा र हिमपात भइरहेको छ । लामो समयसम्म खडेरीको सामना गरिरहेका सुदूरपश्चिमका बझाङ, बाजुरा, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी वर्षा र हिमपात भएको हो ।

उच्च पहाडी तथा हिमाली भेगमा शुक्रवार बिहानबाट हिमपात भएको छ । वर्षा र हिमपातपछि स्थानीय किसान खुसी भएका छन् ।

बझाङका सुर्मा, साइपाल, तलकोट, मष्टा, छबिसपाथीभेरा, थलारा, केदारस्युँ, दुर्गाथली, बित्थडचिर गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । साइपालको धुली, काँडा लगायत क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको छ । यस्तै खप्तड राष्ट्रिय निकुञ्जमा पनि बाक्लो हिउँ जमेको छ ।

खप्तडमा हिमपात सुरु भएको र कुनैकुनै ठाउँमा दुई फिट हाराहारी हिउँ जमिसकेको छ । बाजुराको गौमुल, बुढीनन्दा, हिमाली लगायतका गाउँपालिकामा हिमपात भएको स्थानीयले बताएका छन् । वर्षासागै बैतडीको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौली लगायतका उच्च लेकाली स्थानमा पनि हिमपात भएको छ । डोटीको गैरा, साउखर्क, डडेल्धुराको हगुल्टमा पनि हिमपात भएको छ ।

हिमपात र वर्षासँगै चिसो बढ्दा दैनिक ज्यालामजदुरी गर्ने, बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन । अविरल वर्षापछि जयपृथ्वी राजमार्गको तमैल जालेबगर सडक खण्डमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ ।

छबिसपाथीभेराको बालुवाटार र जालेबगर क्षेत्रमा बिहीबार राति खसेको पहिरो शुक्रवार बिहान हटाएर केहीबेर यातायात सञ्चालन भएको थियो। दिउँसो पुनः सोही ठाउँमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

Loading...