भूमि आयोग कैलालीका नवनियुक्त सदस्यले लिए शपथ

अत्तरिया- भूमि समस्या समाधान आयोग, कैलालीका नवनियुक्त सदस्यले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आयोगका विज्ञ सदस्यमा नियुक्त कमल सिंह राना र सदस्य दानबहादुर विश्वकर्मा ‘चित्रण’ ले मङ्गलवार पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । 

उनीहरूलाई भूमि समस्या समाधान आयोग, कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले शपथ ग्रहण गराएका छन्। दुवै जना नेकपा (एमाले) को कोटाबाट भूमि सम्बन्धी विज्ञ सदस्य र सदस्यमा नियुक्त भएका थिए ।

नेपाली काँग्रेस निकट एक जना व्यक्तिलाई नियुक्त गरेपछि भूमि समस्या समाधान आयोग समन्वय समितिले पूर्णता पाउनेछ । शपथ ग्रहण कार्यक्रमको प्रमुख अतिथि पूर्व मन्त्री समेत रहेका नेकपा एमालेका पोलिटब्युरो तथा कैलाली इन्चार्ज नारदमुनी राना रहेका थिए । रानाले उनीहरूको कार्यकालमै कैलालीमा व्याप्त भूमि सम्बन्धी समस्या समाधान हुनेमा विश्वस्त रहेको बताए ।

अध्यक्ष उपाध्यायले समेत कैलालीमा एक लाख ३५ हजार भूमिहीन भएको बताउँदै आफ्नो नेतृत्वको समिति नै भूमि समस्या समाधान आयोगको अन्तिम समिति बनोस् भन्ने चाहना व्यक्त गरेका हुन् । उनले सबै पक्षको साथ, सहयोग लिएर भूमि सम्बन्धीका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Loading...