गोदावरीमा १० देखि १४ वर्षका छुटेका छात्राहरुलाई फागुन ६ गतेसम्म एचपिभी खोप लगाइने

अत्तरिया- गोदावरी नगरपालिकामा छुटेका १० देखि १४ वर्ष उमेरका छात्राहरुलाई एचपिभी (Human Papillomavirus) खोप दिने अभियान अन्तिम चरणमा पुगेको छ । खोप कार्यक्रम फागुन ६ गते सम्म मालखेती अस्पतालमा निरन्तर सञ्चालन हुने भएको छ ।

स्वास्थ्य शाखाका अनुसार हाल सम्म ९३% प्रगति हासिल भइसकेको छ । लक्ष्य अनुसार ६,६६४ छात्रालाई खोप दिनु पर्नेमा हालसम्म ६,१९८ जनाले खोप लगाइसकेका छन् । गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीका अनुसार छुटेका छात्राहरुलाई खोप लगाउन पुनः अवसर प्रदान गरिएकाले अभिभावकहरूले यसलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ ।

नगर प्रमुख बिरेन्द्र भट्टले पनि नगरका सबै किशोरीहरूलाई खोप लगाउन आग्रह गर्दै यसका महत्त्वका बारेमा जानकारी गराएका छन् । उनले एचपिभी खोपले पाठेघरको क्यान्सर जस्ता गम्भीर रोगहरूबाट बचाउने भएकाले सबैलाई अनिवार्य रूपमा खोप लगाउन प्रेरित गर्नुपर्ने बताए ।

गोदावरी नगरपालिकामा एचपिभी खोप लगाउने महिलाको संख्या उल्लेखनीय रहेको छ । यसबाट स्वास्थ्य सचेतना वृद्धि भएको संकेत मिलेको नगरपालिकाले जनाएको छ । स्वास्थ्य शाखाले विद्यालय, समुदाय र अन्य सम्बन्धित निकायहरूसँग समन्वय गर्दै छुटेका छात्राहरूसम्म खोप पुर्‍याउने प्रयास गरिरहेको छ ।

स्वास्थ्य शाखाले खोप अभियान सफल बनाउन सबै अभिभावक, शिक्षक र समुदायका अगुवाहरूलाई सहयोग गर्न आग्रह गरेको छ । फागुन ६ गतेसम्म उपलब्ध हुने यो अवसरलाई अधिकतम छात्राहरूले उपयोग गर्नुपर्ने बताइएको छ ।

Loading...