आजदेखि कञ्चनपुरको ‘भाइरल रोड’ जान रोक





कञ्चनपुर, १३ भदाै- जिल्लाको भीमदत्त नगरपालिकामा पर्ने ‘भाइरल रोड’मा आजदेखि जान रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका वडा नं. ११ र १२ ऐरी क्षेत्रमा निर्माणाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको सडकमा आजदेखि जान रोक लगाइएको हो।



पछिल्लो समय चर्चित बनिरहेको ‘भाइरल रोड’मा टिकटक, भिडियो र फोटो खिच्न आउने भीड बढेको भन्दै उक्त सडक जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले रोक लगाएको प्रमुख जिल्ला अधिकारी रामप्रशाद पाण्डेले बताए ।


उक्त सडकमा लाग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको भिडका कारण कोरोनाको जोखिम बढीरहेका कारण रोक लगाउने निर्णय गरिएको हो। ‘कैलाली र कञ्चनपुर लगायत अन्य स्थानबाट सर्वसाधारणहरु आएर भिड लाग्ने, निमार्णाधीन चार लेनको पक्कीको योजना पनी प्रभावीत बनेको, निषेधाज्ञा लागू नै भएको अवस्थामा कोरोनाको जोखिमलाई मध्यनजर गर्दै आम सर्वसाधारणहरुलाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए।
साथै कोरोना संक्रमणको जोखिमसंगै मदिरा तथा लागूऔषध सेवन गरि दिनहुँ झै–झगडा हुने, निर्माणाधीन पुल तथा सडकको काम प्रभावित बनेको र छेउमै रहेको महाकालीमा पुरुष बेपत्ता भएको घटनाका कारण अर्को आदेश नआएसम्म सडकमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।



