अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ र ६ मा रहेको बडेहा-बिजौरा खानेपानी उपभोक्ता संस्था को व्यवस्थापन समितिको निर्वाचनले स्थानीय राजनीतिक समीकरणमा नयाँ बहस निम्त्याएको छ । विभिन्न दलहरूले आफ्ना उम्मेदवारहरू मैदानमा उतारे पनि नेकपा एमालेको आन्तरिक निर्णय प्रक्रियाले स्थानीय तहमा नेतृत्व क्षमताबारे गम्भीर प्रश्न उठाएको छ ।
नेकपा एमाले निकटबाट बलबहादुर चौधरी, मानबहादुर बलायर, रमेश प्रसाद भट्ट उम्मेदवारका रूपमा अघि सारिए भने नेपाली कांग्रेस को तर्फबाट चेतराज पन्त र रमेश बलायर मैदानमा थिए। रमेश बलायर मानबहादुर बलायरका सहदर भतिजा समेत हुन्, जसले सचिवका रूपमा एक कार्यकाल पूरा गरिसकेका थिए ।
तर, निर्वाचन प्रक्रिया अघि बढ्दै जाँदा एमालेभित्रको अन्तरविरोध सतहमा आयो। नगर कमिटी पदाधिकारीहरू र नगर इन्चार्जको निरन्तर प्रयासका बाबजुद पार्टीले एकल उम्मेदवार दिन नसक्नु गम्भीर चिन्ताको विषय बन्यो । स्थानीय नेतृत्वको असक्षमता हो कि पूर्वनिर्धारित रणनीति ? यो बहस अहिले चिया चौतारासम्म सीमित नरही, व्यापक रूपमा उठ्न थालेको छ ।


पार्टी निर्णय कमजोर कि रणनीतिक चूक ?
यस घटनाले नेकपा एमाले गोदावरी नगर नेतृत्वको कार्यशैली माथि गम्भीर प्रश्न खडा गरेको छ । उम्मेदवारहरूको मनोनयनमा स्पष्ट योजना नहुनु, नेतृत्वको प्रभावहीनता, र आन्तरिक गुटबन्दी स्पष्ट देखियो । पार्टीले उम्मेदवारहरूलाई उभ्याउने तर अन्तिम समयमा अलपत्र छोड्ने प्रवृत्ति पार्टीभित्रै असन्तोषको कारण बनिरहेको छ।
नेकपा एमालेको “जराकेन्द्रित अभियान” भन्ने नाराको पहिलो परीक्षण यस खानेपानी निर्वाचनमा भएको देखिन्छ । तर, पार्टीको निर्देश भन्दा व्यक्तिगत समीकरण हावी हुने अवस्था सिर्जना हुनुले एमालेभित्रकै नेतृत्वप्रति विश्वास खस्किएको छ ।
मिसन ८४ को संकेत ?
गोदावरीको यो खानेपानी निर्वाचन केवल एउटा स्थानीय घटना मात्र होइन, यो आगामी मिसन ८४ को दिशानिर्देश पनि बन्न सक्छ । यदि यस्तै प्रवृत्तिले निरन्तरता पायो भने पार्टीभित्रको असहज परिस्थिति निकट भविष्यमा थप चर्किन सक्छ ।
यसकारण, नेकपा एमालेका लागि यो समस्याकाे घण्टी हो । यदि पार्टीले यस्ता घटनाहरूलाई हल्काफुल्का रूपमा लियो भने, आउने दिनमा यसको प्रभाव स्थानीय तहदेखि माथिल्लो तहसम्म पर्नेछ । समयमै आत्मसमीक्षा गर्नसके मात्र नेकपा एमालेले आफ्नो साख जोगाउन सक्छ, अन्यथा स्थानीयस्तरमै गुम्ने पकड़ फेरि उकास्न गाह्रो पर्न सक्छ ।

