पुल बगेपछि जोखिममा नदी तर्दै राजघाट बासी





अत्तरिया, भदौ- कञ्चनपुरको कृष्णपुर नगरपालिका–वडा नमबर–८ र ९ मा पर्ने राजघाटका स्थानीय मोहना नदीमा निर्माण गरिएको पुल बगाएपछि जोखिम मोलेर नदी तर्न बाध्य भएका छन् ।


राजघाट र धनगढीको सीमामा मोहना नदी रहेका कारण त्यहाँका नागरिकलाई धनगढी आउन पुलको सहारा चाहिन्छ । नदीमा हाल सम्म सरकारी पुल छैन । स्थानीयका समस्यालाई मध्यनगर गरेर नीजि क्षेत्रले स्काई ब्रिज निर्माण गरेको थियो । नीजि क्षेत्रले निर्माण गरेको पुलमा पैसा तिरेर भएपनि सहज धनगढी आउन पाएका राजघाट बासी शुक्रबार देखी नदी तैरेर धनगढी आउन बाध्य भएका छन् ।



‘नदीमा निर्माण गरिएको स्काई ब्रीज बिहीबार राती आएको बाढीले बगायो’ स्थानीय हरी भुत्यालले भने–‘सरकारले ८ बर्ष अघि निर्माण गर्न थालेको पुल अझै सम्पन्न भएको छैन, धनगढी आउन ज्यानको बाजी लगाउनुपरेकोछ ।’ उनका अनुसार राजघाट बासीका लागि नजिकको बजार धनगढीनै हो । कञ्चनपुरमा पर्ने महेन्द्रनगर जान, आउन १ दिन पुरै लाग्ने गरेको उनले बताए ।
राजघाटबाट धनगढी आउन नजिक कुनै पुल नभएको स्थानीय चन्द्र महराले बताए । उनका अनुसार यस अघि स्काई ब्रीज रहेको स्थानबाट हिडेर धनगढी जाँदा २० मिनेट मात्रै लाग्ने गरेको थियो । तर स्काई ब्रीज बगाएपछि गाउँबाट सवै भन्दा नजिक पर्ने अर्को पुलबाट धनगढी जान भने मोटरसाईकलमा १ घण्टा लाग्ने गरेको उनले बताए ।
कृष्णपुर नगरपालिका–९ का वडा अध्यक्ष छत्र महराले पुल नहुँदा स्थानीयलाई समस्या भएको बताए । ‘सुख्खायाममा त्यती समस्या नभएपनि बर्षा याममा धनगढी जान स्थानीयलाई सकस हनेगरेकोछ’ उनले भने–‘नीजि क्षेत्रले निर्माण गरेको पुलले केही सहयोग भएको थियो, त्योपनि बगेकोछ ।’ उनले स्काई ब्रीज बगाएपछि नदी तर्ने बैकल्पिक तरिकाबोरे छलफल भइरहेको बताए ।
मोहना नदीमा निर्माणाधिन पक्कीपुलको ढलान सम्पन्न भइसकेको भन्दै उनले त्यसैलाई भरान गरेर भएपनि पैदल हिड्न सम्म बनाउन सकिने बताए । त्यसका लागि सडक डिभिजन कार्यालय महेन्द्रनगरसंग छलफल भएको बताउँदै उनले सडक डिभिजन कार्यालयले जेसिबि पठाईदिने आस्वासन दिएको बताए । यसका अलावा निजी क्षेत्रले निर्माण गरेको स्काई ब्रीज मर्मतका बारेमा पनि सञ्चालक संग छलफल गरिएको उनले बताए ।



