अत्तरिया- महिला हिंसा न्यूनिकरण गर्ने उद्देश्यले कैलालीको गोदावरी नगरपालिकाले किशोरीहरुलाई आत्मारक्षा तालिम प्रदान गर्न थालेको छ ।
नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले जिल्ला खेलकुद विकास समिति कैलाली तथा इलाका प्रहरी कार्यालय मालाखेतीसंगको सहकार्यमा किशोरहरुलाई दुई दिने आत्मारक्षा तालिम दिन लागेको हो ।
सो तालिम अन्तरगत आजदेखि वडा नम्बर २ अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माविका १०५ जना किशोरीले तालिम लिइरहेका छन् ।
महिला तथा किशोरीहरुमाथि हुने बलत्कार, जबरजस्ती करणी, कुटपपिट जस्ता घटना मौलाउदै गएकोले आत्मरक्षा तालिमको आयोजना गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख गोदावरी धामीले बताइन् ।
अझै पनि हाम्रो समाजमा धेरै घटना हुने गरेकाले त्यसको अन्त्यका लागि यो तालिमले धेरै कुरा सिकाउने उनको भनाई छ ।
आक्रमणबाट कसरी बच्ने, संवेदनशील अंगमा बचावट गर्नेदेखि उल्टै प्रहार गर्नेलगायतका गतिविधिबारे प्रशिक्षण दिइने भएको हो ।
दुर्गालक्ष्मि,नवज्योति मावि,शारदा मावि र शेलेश्वरी मावि गरि शाखाले यस वर्ष नगरका चार वटा विद्यालयका किशोरीहरुलाई आत्मरक्षा तालिम दिइरहेको हो। नवज्योति र शारदा माविमा प्रशिक्षण सम्पन्न भईसकेको छ ।
सबै विद्यालयका गरि करिब ५०० किशोरीलाई प्रशिक्षण गरिने शाखाले जनाएको छ ।