

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालका लागि इसराइली राजदूत समुलिक एरी बासलाई हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् ।



बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित नेपाल स्टार्टअप र साना–मझौला व्यवसाय सम्मेलन उद्घाटन कार्यक्रममा सहभागी इसराइली राजदूत बासलाई सभापति देउवाले जोशीको रिहाइमा सहयोग गर्न आग्रह गरेका हुन् ।


‘‘इसराइलमा अहिले शान्ति प्रक्रिया सुरू भएको छ। हमासले कब्जामा राखेका विपिन जोशीलाई छुटाउने काममा पनि इसराइली राजदूतले मद्दत गर्नुहुन्छ भन्ने विश्वास लिएको छु । हामी सबै लाग्नेछौं,’’ सभापति देउवाले भने ।
सन् २०२३ को अक्टोबरमा इसराइली भूमिमा आक्रमण गरी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए । त्यसपछि उनीहरूले केहीलाई अपहरण गरेका थिए, जसमा नेपाली विद्यार्थी जोशी पनि परेका छन् । जोशीको रिहाइका लागि सरकारले कुटनीतिक प्रयास जारी राखेको छ।





