अत्तरिया- राष्ट्रिय वाणिज्य बैँक सुदूरपश्चिम प्रदेश कार्यालयले अत्तरियाका तीन जना उद्योगी व्यवसायीलाई सम्मानित गरिएको छ । वाणिज्य बैंक लिमिटेडले आफ्नो ६० औँ वार्षिकोत्सव अवसर पारेर उद्योगी व्यवसायी उत्तम कठायत, यज्ञराज भट्ट र देवराज भट्टलाई उत्कृष्ट कर्जादाताको रुपमा सम्मानित गरेको हो । बैंकले धनगढीमा आयोजना गरेको एक विशेष कार्यक्रममा ती व्यवसायीलाई सम्मानित गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंकले यस कार्यक्रमको आयोजना गरेको उद्देश्य भनेको ऋण लिएर समाजमा उत्थान ल्याउने र व्यवसायमा सफलता हासिल गर्ने व्यक्तिहरूलाई प्रोत्साहन दिनु हो । यस अवसरमा, बैंकका प्रतिनिधिहरूले विशेष योगदान दिने व्यक्तिहरूलाई सम्मानित गर्दै व्यवसायिक सफलता र सामाजिक योगदानका लागि बधाई दिएका थिए ।
सम्मान पाउनेमा गोदावरी नगरपालिका वडा नं. २ का वडा सदस्य देवराज भट्ट रहेका छन्, जो नमस्ते मोबाइल ग्यालरीका संचालक पनि हुन् ।
यससँगै, उग्रतारा मेटल व्यवसायी यज्ञराज भट्ट र प्रसिद्ध कलकारखाना उद्योग व्यवसायी उत्तम कठायत पनि सम्मानित भएका छन् । तीनै जनाले आफ्नो व्यवसायिक यात्रा कठिनाइ र संघर्षका बीचमा सफलता प्राप्त गरेका छन् र त्यसको आधारमा उनीहरूको सम्मान गरिएको हो ।