भारतमा रेलले किच्दा सुदूरपश्चिममा पाँच जनाको मृत्यु

भारतमा रेलले किच्दा सुदूरपश्चिमका पाँचसहित सात नेपालीको मृत्यु भएको छ । भारतको जलगाउँ जिल्लाको पारधाडे तालुका पाचोरामा रेलले किचेर अछामका चार, कैलालीका एक र दुई जनाको ठेगाना खुलेको छैन ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा, छोरा हिमु तथा कमलबजार नगरपालिका–४ चाल्साकी ६० वर्षीया जयकला कामीको रेलले किचेर मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टाकी ४३ वर्षीया कमला भण्डारीको समेत मृत्यु भएको छ ।

यस्तै, बाँकेका राधेश्याम राध र नारायणपुर मात्र ठेगाना खुलेका लच्छिराम पासीको पनि मृत्यु भएको छ । अछामको मंगलसेनका ह्युजला सावन्त र धर्मबहादुर सावन्त तथा दैलेखका दीपक थापा र मञ्जु परियारको उपचार भइरहेको छ ।

महाराष्ट्र राज्यस्थित जलगाउँमा बुधवार साँझ लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेपछि यात्रु रेलबाट हाम फालेका थिए । पुष्पक एक्सप्रेसमा सवार यात्रुले रेलको पाङ्ग्राबाट धूवाँ निस्किएपछि सम्भावित आगलागीको डरले लिकमै हाम फालेका भारतीय सञ्चार माध्यमहरूले बताएका छन् ।

सोही क्रममा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको कर्नाटक एक्सप्रेसको रेलले उनीहरूमध्ये धेरैलाई किचेको थियो । ज्यान गुमाउने १२ जनामा सात नेपाली पुगेका हुन ।

Loading...