राष्ट्रिय सभामा दुई तिहाई सुनिश्चित भएपछि मात्र संविधान संशोधनको प्रक्रिया अगाडि बढ्छ ः गौतम

धनगढी- नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राष्ट्रिय सभामा दुई तिहाई सुनिश्चित भएपछि मात्र संविधान संशोधनको प्रक्रिया अगाडि बढाइने बताएका छन् ।

‘राष्ट्रियसभामा अहिले सामान्य बहुमत समेत पुग्दैन,’ उनले भने, ‘बहुमतको जग नै नभएपछि संविधान संशोधनको कुरामात्रै गरेर त भएन नि १’ ५९ सदस्यीय राष्ट्रियसभामा बहुमतका लागि ३० र दुई तिहाइ मतका लागि ४० सांसद चाहिन्छ, कांग्रेस र एमाले दुवै दलको सांसद संख्या २६ मात्रै छ ।

माथिल्लो सदनमा सामान्य बहुमत नभएकाले ओली सरकारलाई आफूखुसी कानुन ल्याउन वा अहिले ल्याइएका अध्यादेश पारित गराउन पनि समस्या छ । राष्ट्रियसभामा सबै भन्दा ठूलो दल माओवादी हो । उसका १७ सांसद छन् । कांग्रेसका १६ र एमालेका १० जना छन् ।

कीकृत समाजवादीका ८, जसपा नेपालका ३, लोसपाका १ र जनमोर्चाका १ सदस्य छन् । राष्ट्रपतिबाट मनोनीत सदस्यको संख्या ३ छन् । मनोनीत ३ मध्ये नारायण दाहाल सभा अध्यक्ष छन् । अर्का मनोनीत वामदेव गौतम र अन्जान शाक्य हुन् । गौतमको अझै अन्योल छ भने शाक्य एमाले सांसद हुन् ।

राष्ट्रिय सभाका १९ सदस्यको ६ वर्षे पदावधि २०८२ फागुन २० मा पूरा हुँदै छ । आगामी वर्ष पदावधि सकिनेमा सबैभन्दा बढी एमालेका ८ जना छन् । यसबाहेक माओवादीका ७, एकीकृत समाजवादी, लोसपाजसपाका १/१ जनाको पदावधि सकिन्छ । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमको कार्यकाल पनि आगामी वर्ष पूरा हुनेछ ।

१८ सिटमा चुनाव भएर र एक जना राष्ट्रपतिबाट मनोनीत भएर राष्ट्रिय सभामा २०८२ फागुन २१ बाट नयाँ १९ सदस्यको प्रवेश हुनेछ । त्यतिबेला राष्ट्रिय सभाको अंकगणित अहिले भन्दा फरक हुन्छ । तर त्यतिबेला पनि कांग्रेस–एमालेको दुई तिहाइ पुग्ने अवस्था छैन ।

Loading...