धनगढी- धनगढीको डुबान समस्या समाधानका लागि ६ लेन सडकमा नाली निर्माण गर्न शिलान्यास गरिएको हो । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले नाली निर्माणको शिलान्यास गरेका हुन् । धनगढी उपमहानगरपालिका वडा नम्बर २ र ३ नम्बरको पानी मोहना नदीमा फाल्न ६ लेन सडकमा २ हजार ८१५ मिटर लामो नाली निर्माण गर्न २०८१ असार २० गते सम्झौता भएको थियो ।
सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई, धनगढीले चौराहदेखि मोहना नदीसम्म दोहोरो २ मिटर गहिरो र २ मिटर चौडा नाली निर्माणका लागि सम्झौता गरेको सात महिनापछि नाली निर्माणको काम सुरु भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले आफुले चुनावका वेला जनता सम्म गरेको प्रतिवधता पुरा हुने वेला आएको बताए । जनताको घरदैलोमा भोट माग्न जादा डुवानबाट मुक्त गर्ने बढी माग आएपछि संघिय सरकारको सहयोगमा योजना हाल्न सफल भएको बताए । मन्त्री देउवाले पहिलो चरणमा चौराह देखि भन्सार सम्म दुवै तर्फ नालि निमर्णको काम शुरु भएपनि दोस्रो चरणमा माहेनपुर देखि नाली निर्माण गरिने जानकारी दिए ।

कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिका नगरप्रमख गोपाल हमालले ढिल्लै भएपनि धनगढीमा डुवानको समस्या समाधान हुने बताए । उनले परियोजना पुरा गर्ने धनगढी उपमहानगरपालिकाले गनु पर्ने आवश्यक सहयोग र समन्यनका लागी आफु जहिले तयार रहेको बताए । परियोजना समय मै सम्पन गर्ने आफुले सक्दो सहयोग गर्ने र निर्माण कम्पनीहरुले पनि त्यहि रुपमा काम गनुपर्ने बताए ।
मोहनापुल–अत्तरिया ६ लेन सडकको पूर्वी क्षेत्रमा एक हजार तीन सय ६५ मिटर र पश्चिम क्षेत्रमा एक हजार चार सय ५० मिटर लामो नाली निर्माणको काम सुरु भएको छ । पूर्वमा ११ करोड २० लाख र पश्चिममा १२ करोडको लागतमा नाली निर्माणका लागि इस्टिमेट भएको थियो ।
तर, सात करोड ४४ लाख ७९ हजार ८९६ रुपैयाँ ८३ पैसा कबोल अंक राखेको एमबी र शुभलक्ष्मी र आदर्श जेभी र ६ करोड पाँच लाख एक हजार ८३२ रुपैयाँ ५२ पैसा कबोल अंक राखेको सनराइजरचन्द्र विकाश र मस्टा जेभी, धनगढीसँग नाली निर्माणका लागि सम्झौता गरिएको सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाईका सूचना अधिकारी पुष्प भट्टले बताए ।
मोहनापुल–अत्तरिया ६ लेन सडकको सर्भिस लेनको बिचबाट बर्सातको पानी मोहनासम्म बग्नका लागि नाली निर्माणको काम थालिएको हो । बस्तीको पानी नालीसम्म ल्याउन विभिन्न ठाउँमा च्याम्बरहरू निर्माण गरिने छ। नाली सफा गर्नका लागिसमेत होलहरूसमेत निर्माण गरिने सहरी विकासले बताएको छ ।
निर्माण कम्पनीहरूले २०८३ वैशाख १६ गते भित्र काम पूरा गर्नुपर्ने छ । २२ महिनामा निर्माण कम्पनीले २ हजार ८ सय १५ मिटर नाली निर्माणको काम सक्नुपर्ने छ । इन्जिनियर पुष्प भट्टले मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणका क्रममा सडक क्षेत्राधिकार खाली भएकाले समस्या नहुने बताए ।
मोहनापुल–अत्तरिया ६ लेन सडकका कारण धनगढीमा डुबान हुँदै आएको भन्दै धनगढी उपमहानगरपालिकाले विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार पारेको थियो। धनगढीको डुबान समस्या समाधानका लागि सडकको दुबै तिर नाली निर्माण गरिने भएको हो ।