बझाङ- बझाङमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन् । खप्तड छान्ना गाउँपालिका–४ माझीगाउँकी २८ वर्षीया अंकिरा रोकायालाई शुक्रबार भालुले आक्रमण गरेको हो ।


जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार आफ्नै घरदेखि २ किलोमिटर टाढा दखोला भन्ने स्थानमा स्याउला काट्न गएकी रोकायालाई बाटोमै भालुले आक्रमण गरेको हो । आक्रमणमा रोकायाको टाउको, अनुहार, छाती, र दाहिने खुट्टामा गहिरो चोट लागेको छ ।
घटनापछि उनलाई जिल्ला अस्पताल बझाङमा प्राथमिक उपचार गराइएको थियो । थप उपचारका लागि उनलाई काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ ।
यस्ता घटनाहरूले बझाङको दुर्गम क्षेत्रमा वन्यजन्तुसँगको मानव द्वन्द्वको जोखिम अझै कायम रहेको देखाउँछ। स्थानीय बासिन्दालाई सावधानी अपनाउन प्रहरीद्वारा आग्रह गरिएको छ ।