कञ्चनपुरको ‘भाइरल रोड’ जान प्रतिबन्ध





अत्तरिया, ९ भदौ- पछिल्लो सयम महाकालीमा छेउमै कञ्चनपुर निर्माण भइरहेको सडकमा भिड बढेपछि सर्वसाधारणका लागि प्रतिबन्ध गरेको छ ।



कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै टिकटक, भिडियो र फोटो खिच्न आउने भीडका कारण ‘भाइरल रोड’ भनेर चर्चित भएको उक्त सडकमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले प्रतिबन्ध लगाएको हो ।


बुधबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सम्पन्न भएको बैठकले आगामी आइतबारदेखि उक्त सडकमा प्रतिबन्ध लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामप्रशाद पाण्डेले जानकारी दिए । उक्त सडकमा लाग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको भिडका कारण कोरोनाको जोखिम बढीरहेका कारण यस्तो निर्णय गरिएको उनले बताए ।
यस्तै कोरोना संक्रमणको जोखिम बाहेक मदिरा तथा लागूऔषध सेवन गरि दिनहुँ झै–झगडा हुने अवस्था सिर्जना भएको, भिडका कारण निर्माणाधीन पुल तथा सडकको काम प्रभावित बनेको र छेउमै रहेको महाकालीमा पुरुष बेपत्ता भएको घटनाका कारण अर्को आदेश नआएसम्म सडकमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । सोमबार मात्रै भाइरल रोडको छेउमै रहेको महाकाली नदीमा भीमदत्त नगरपालिका–१२ ओदानीका ४५ वर्षीय कृष्णदत्त जोशी बेपत्ता भएका थिए । उनले सोमबार महाकालीमा हाम फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनको खोजी कार्य भइरहेको कञ्चनपुर प्रहरीका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानले बताए । पछिल्लो समय दैनिक सयौँ पर्यटक उक्त स्थानमा पुग्ने गरेका थिए ।



