पर्यटन राज्यमन्त्री चौधरी विरुद्धको योग्यता विवादको रिट खारेजी

धनगढी‍- पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी विरुद्धको योग्यता विवादको रिट खारेजी भएको छ । सर्वोच्च अदालतले पर्यटन राज्यमन्त्री तथा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी चौधरीको योग्यता विवाद सम्बन्धी रिट खारेज गरिदिएको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधवार निर्णय सुनाउँदै रिट खारेज गरिदिएको छ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले यो निर्णय सुनाएको हो ।

नागरिक उन्मुक्ति पार्टीबाट विजयी राज्यमन्त्री चौधरी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नसमेत योग्य नभएकाले उनलाई पदमुक्त गर्नुपर्ने माग राखी अधिवक्ता वसन्त जोशीले २०७९ चैत १७ गते यो रिट दायर गरेका थिए ।

चौधरीलाई संविधानको धारा ८७ बमोजिम योग्यता नपुगेको, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम योग्यता नरहेको र सोही ऐनको दफा १२ बमोजिम तोकिएको योग्यता नभएको दाबीसहित रिट निवेदन दर्ता गरिएको थियो ।

Loading...