आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेट हुँदै

धनगढी । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि हुने भएको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए ।

आगामी माघ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश तथा दुई विभागीय एपिएफ र आर्मीको टोली सहभागी हुने सङ्घका सचिव लक्ष्मण भट्टले बताए । उनका अनुसार सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै सशस्त्र प्रहरी बलको एपिएफ क्लब रहेका छन् । समूह ‘बी’ मा कोशी, बागमती र मधेश प्रदेशका साथै त्रिभुवन आर्मी क्लब रहेका छन् ।

आज उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेश भिड्ने छन् । राष्ट्रिय खेलकुद परिषद्को कार्ययोजना, नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहले रु पाँच लाख पुरस्कार पाउने नेपाल क्रिकेट सङ्घका महिला विकास समितिका सदस्य तेजप्रकाश भट्टले जानकारी दिए ।

उनका अनुसार दोस्रो हुनेले रु तीन लाख, प्लेयर अफ द सिरिजलाई रु ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरलाई रु २५/२५ हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई रु तीन हजार पुरस्कार दिइने छ ।

प्रथम र द्वितीय पुरस्कार राष्ट्रिय खेलकुद परिषद्ले र बाँकी पुरस्कारहरूको रकम सुदूरपश्चिम खेलकुद परिषद्ले उपलब्ध गराउने जनाएका छन् ।

Loading...