अत्तरिया- कैलालीको गोदावरी धाममा बाह्र राशि दर्शन मकर मेला सुरु भएको छ । मकर संक्रान्तिका अवसर पारेर सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल रहेको गोदावरी धाममा सुरु भएको मकर मेलाको आज एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख एवम् धामका संरक्षक विरेन्द्र भट्टले उद्घाटन गरेका छन् ।
कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु,राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख लगायत विभिन्न धार्मीक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । मेला १२ दिन सम्म चल्नेछ । प्रत्येक वर्ष कुनै एक राशिमा कुम्भ मेलाको योग पर्ने भएकाले कुम्भ मेलाको प्रतिकका रुपमा बाह्र राशि दर्शन मकर मेला आयोजना गरिको गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले बताए ।
जोशीका अनुसार धाममा बाह्र राशीको स्थापना गरि प्रत्येक राशीका व्यक्तिहरुलाई दर्शन तथा धाममा स्थापना गरिएको कुम्भ बाटिकामा बाह्र राशी र नवग्रह, २७ नक्षेत्र र बाह्र आदित्यको स्थापना गरी भक्तजनलाई दर्शन एवं पूजाको व्यवस्था गरिएको छ । मकर मेलामा सुदूरपश्चिम सहित सिमावर्ती भारतका विभिन्न ठाउँबाट भक्तजन आउने गर्छन् ।
आज बिहानैदेखि भक्तजनहरु धाम पुग्ने क्रम चलिरहेको छ । गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, ६ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशी दर्शन मकर मेला गर्ने लक्ष्य अनुसार महाकुम्भपछि मकर मेलाको आयोजना गरीएको आयोजकले जनाएको छ । मकर संक्रान्तिका अवसरमा माघ १ गते गोदावरी धाममा स्नान गर्ने भक्तजनहरुको समेत घुइँचो लाग्ने गर्दछ ।