छाडा पशुचौपाया व्यवस्थापन नहुँदा कैलालीका कृषक हैरान

कैलाली-  जिल्लामा छाडा पशुचौपाया व्यवस्थापन अझै हुन सकेको छैन । छाडा पशु चौपाया व्यवस्थापन नहुँदा कृषक हैरान भएका छन् । दुध दिउन्जेल सम्म गाई पाल्ने र दुध दिन छाडेपछि जथाभावी छाड्ने प्रवृत्ति नरोकिएकाले चौपाया व्यवस्थापनमा चुनौती बढ्दै गएको हो ।

छाडा पशु व्यवस्थापनमा समस्या भएको धनगढी उपमहानगरपालिका-३ चटकपुर स्थित गौ संरक्षण सेवा समितिका अध्यक्ष भोजराज पाठकले बताए । पहिले यहाँका स्थानीयका प्रत्येक घरमा दुध खानका लागि गाई पाल्दथे । सोही गाईबाट जन्मिएको गोरु कृषकले खेत जोत्न प्रयोग गर्थे ।

कृषि प्रणालीमा भएको आधुनिकीकरणसँगै गोरुको प्रयोग गर्ने घटे । जसले गर्दा पशुचौपाया छाडने प्रवृत्ति हट्न नसकेको अध्यक्ष पाठकको भनाइ छ । उनले छाडा पशुचौपायाको पूर्ण व्यवस्थापन गर्न कसैले व्यक्तिगत रुपमा नलिई सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए । छाडा पशुचौपायाले यहाँका किसानले हैरानी खेप्दै आएका छन् ।

उनीहरुलाई बाली तथा तरकारी जोगाउन सकस छ । पशु कल्याण समिति धनगढीका अध्यक्ष चेतराज अवस्थीले गोठमा पालेका गाई–गोरु छाड्ने कार्य नरोकिएकाले बजारमा सडक दुर्घटनाको जोखिम भएको बताए । धनगढीको ६ लेन सडकमा दैनिक एक दुई गाईगोरु गाडी दुर्घटनाबाट मर्ने तथा घाइते हुने गरेका छन्।

छाडा चौपाया दिनभर बजार लगायत क्षेत्रमा डुल्ने र रात परेपछि खेतबारीको बालीनाली, तरकारीमा चर्ने गरेको स्थानीय कृषक टेक जोराको भनाइ छ । धनगढी उपमहानगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापनका लागि वडा नम्बर ७ स्थित देवहरियामा गौशाला निर्माण गरिएको छ ।

धनगढी–३ चटकपुरमा पनि केही वर्षअगाडि देखि गौ संरक्षण सेवा समितिले गौशाला सञ्चालनमा ल्याई छाडा पशु व्यवस्थापन गरिएको छ ।

त्यसैगरी धनगढीको फूलबारी र बेहडाबाबामा गौशाला सञ्चालनमा ल्याइएको छ। जिल्लाका विभिन्न स्थानमा काञ्जिहाउस समेत निर्माण गरिएका छन् । छिमेकी राष्ट्र भारतीय सीमा नाकाबाट पनि चौपाया भित्रिने क्रम नरोकिएकाले व्यवस्थापनमा चुनौती थपिएको स्थानीयको भनाइ छ । रासस

Loading...