गोदावरी धाममा बाह्र राशि मकर मेलाको तयारी पूरा

अत्तरिया-  कैलालीको गोदावरी धाममा बाह्र राशि मकर मेला पुस २९ गतेदेखि सुरु हुने भएको छ । गोदावरी धाम विकास समितिले मेलाको तयारी पूरा भएको जनाएको छ ।

मेलामा बाह्र राशि नवग्रह, सत्ताइस नक्षत्रको स्थापना, लक्ष्य हवन, पुराण पाठ, ग्रह पूजा, भजनकिर्तन, र प्रवचन जस्ता धार्मिक क्रियाकलाप हुनेछन् ।

गोदावरी विकास धाम समितिका अध्यक्ष पदम राज जोशीले २०७२ सालको महाकुम्भ मेला पछि प्रत्येक वर्ष १२ दिवसीय बाह्र राशि दर्शन मकर मेला आयोजना हुँदै आएको बताए । उनले यस मेलालाई “लघु कुम्भ” का रूपमा व्याख्या गर्दै, कुम्भ मेला एक महिनाभन्दा बढी समयको हुने भए पनि यो मेला बाह्र दिनसम्म सीमित रहने जानकारी गराए ।

मेलाको समुद्घाटन पुस २९ गते सोमबार दिउँसो १ बजे प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गर्ने कार्यक्रम तय भएको छ।

२०८४ सालमा आयोजना हुने महाकुम्भ मेलाको प्रारम्भिक तयारी यसै वर्षबाट सुरु गरिएको छ । प्रत्येक श्रद्धालुलाई सङ्कल्पकर्ताका रूपमा लिँदै उनीहरूको सङ्कल्पबाट महाकुम्भ आयोजना गर्न लागिएको जोशीले जानकारी दिए ।

Loading...