धनगढी- कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभूत विद्यालयलाई सहयोग गरिएको छ । लायन्स क्लब अफ धनगढी, एभरेस्टले विद्यालयलाई खाद्य सामाग्री सहयोग गरेको हो ।
लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको सम्झनामा विद्यालयलाई सहयोग गरिएको हो । पौष २२ देखि २९ गतेसम्म जोन्सको सम्झनामा साताव्यापी कार्यक्रम गर्ने कार्यतालिका अनुसार विद्यालयलाई आलु, तरकारी, अण्डा, चना, चिउरा, भुजा र बिस्कुट सहयोग गरिएको छ । सुप समावेशी आधारभूत विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थीका लागि सहयोग गरिएको छ ।
सुप आधारभूत विद्यालयमा ७५ जना अपाङ्गता भएका विद्यार्थी छन् । उनीहरूको अध्यापनका लागि १४ जना शिक्षक छन् । विद्यार्थीलाई आवाससहितको शिक्षा दिँदै आएको सुप समावेशी स्थानीय र प्रदेश सरकार तथा विभिन्न व्यक्तिको सहयोगमा सञ्चालन गरिएको विद्यालयले बताएको छ ।