गोदावरी नगरपालिकामा प्लास्टिकजन्य फोहोर व्यवस्थापन अभियान कडाई गर्ने

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा प्लास्टिकजन्य फोहोर व्यवस्थापन सम्बन्धी कार्यक्रम गोदावरी सभा हलमा सम्पन्न भएको छ । कार्यक्रममा फोहोर व्यवस्थापनसँगै प्लास्टिक नियन्त्रणका लागि विधान संशोधन गर्ने निर्णय गरिएको छ । आगामी दिनमा प्लास्टिकजन्य पदार्थमा कडाइ गर्न तथा वडा समिति गठन गर्ने योजना पनि तय गरिएको छ ।

उपमेयर शारदा देवी रोकायाको संयोजनमा आयोजित कार्यक्रममा पालिकाका सबै वडा अध्यक्षहरू, स्थानीय टोल सुधार समिति पदाधिकारी, सरोकारवाला निकायका प्रतिनिधि, सुरक्षा अधिकारी, पत्रकार लगायतको उपस्थिति थियो । कार्यक्रममा अत्तरिया बजार लगायत क्षेत्रलाई प्लास्टिकजन्य पदार्थमुक्त बनाउनका लागि प्रभावकारी रणनीतिहरूमा छलफल गरिएको थियो ।

प्लास्टिकजन्य पदार्थमुक्त अभियानलाई प्रभावकारी बनाउन चोकचोकमा सिसी क्यामेरा जडान गर्ने, गाउँबस्तीका टोल सुधार समिति र आमा समूहलाई फोहोर व्यवस्थापनको जिम्मेवारी दिने तथा जनचेतना अभिवृद्धि गर्ने निर्णय भएको छ । साथै, प्लास्टिकजन्य पदार्थसम्बन्धी ऐनलाई संशोधन गर्दै बजार क्षेत्रमा कडाइका साथ नगर प्रहरी परिचालन गर्ने र आवश्यक भए थप प्रहरी नियुक्त गर्ने योजना रहेको विपद् शाखा प्रमुख सुलोचना खड्काले जानकारी दिएकी छिन् ।

Loading...