नवजीवन सहकारीद्वारा शेयरधनी सदस्यहरूको जीवनस्तर सुधारका लागि करोडौं सहयोग

अत्तरिया- नवजीवन सहकारी संस्थाले आफ्ना शेयरधनी सदस्यहरूको जीवनस्तर सुधारका लागि करोडौं रुपैयाँ सहयोग वितरण गरेको छ । सहकारीले आर्थिक वर्ष २०७८/७९ देखि हालसम्म औषधि उपचार, किरिया खर्च, सुत्केरी भत्ता, र अंग प्रत्यारोपणमा उल्लेख्य सहयोग गर्दै आएको हो ।

संस्थाका अध्यक्ष देब बहादुर बमका अनुसार हालसम्म ३४२ बिरामीलाई रु. ७३ लाख २० हजार औषधि उपचारका लागि प्रदान गरिएको छ । डाक्टरको सल्लाहअनुसार बिरामीलाई यो सहयोग उपलब्ध गराइएको छ । त्यस्तै, २६७ जनालाई किरिया खर्चस्वरूप रु. ५३ लाख ४० हजार र २१२ जना सुत्केरी महिलालाई रु. १० लाख ५६ हजार सहयोग गरिएको छ ।

सहकारीले अंग प्रत्यारोपणका लागि पनि ४ जना शेयरधनीलाई रु. ४ लाख उपलब्ध गराएको छ । यो रकम विशेषगरी शेयर सदस्य हित कोष मार्फत प्रदान गरिएको अध्यक्ष बमले जानकारी दिए ।

संस्थाको नयाँ नीति:
अध्यक्ष बमका अनुसार, संस्थाले अब शेयरधनी सदस्यहरूको कल्याणलाई प्राथमिकता दिने नीति लिएको छ । “संस्था मात्रै मोटाउने नीतिलाई परिमार्जन गर्दै शेयर सदस्यहरूको आर्थिक तथा सामाजिक हितलाई समेत ध्यानमा राखेर सहयोग प्रदान गर्न थालिएको हो,” उनले भने ।

उनका अनुसार सहकारीको ३६ हजार शेयरधनी र करिब रु. ३० करोड ८० लाखको शेयर पूँजी छ । जगेडा कोषमा रु. ६० करोडभन्दा बढी रहेको यस सहकारीले सदस्यहरूको स्वास्थ्य र आपतकालीन अवस्थामा समेत सहयोग पुर्‍याउन थप योजनाहरू अघि सारेको छ ।

अध्यक्ष बमले आर्थिक रूपमा सहकारी धनी तर शेयर सदस्यहरू गरिब हुनु नाजायज रहेको भन्दै यस असमानतालाई कम गर्ने उद्देश्यले आफू केन्द्रित भएको बताए । नबजीवन सहकारीको यो पहलले क्षेत्रीयस्तरमा मात्रै होइन, राष्ट्रियस्तरमै सहकारी अभियानलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

Loading...