कैलालीको १३ वटै पालिकामा माओवादी नेतृत्व चयन

धनगढी- नेकपा माओवादी केन्द्रले कैलालीको १३ वटै पालिकामा पालिका स्तरीय नयाँ कार्य समिति चयन गरेको छ । सो पार्टीको पालिका स्तरीय सम्मेलनबाट नयाँ कार्य समिति चयन गरिएको हो ।

नेकपा माओवादी पार्टीले दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिकाको नगर कार्य समिति अध्यक्षमा बल बहादुर ऐर बाली निर्वाचित भएका छन् । अध्यक्षका लागि दुई जना बिच प्रतिस्पर्धा भएको थियो ।

त्यसैगरी गोदावरी नगर कार्य समिति अध्यक्षमा तिलक चौधरी चयन भएका छन् । त्यस्तै, गौरीगङ्गा नगर कार्य समिति अध्यक्षमा राजकुमार थारू ‘ताजेन्द्र’, घोडाघोडी नगर कार्य समिति अध्यक्षमा कर्ण बोहरा ‘बिगुल’, लम्कीचुहा नगर कार्य समिति अध्यक्षमा कमल बहादुर भुल ‘सुरेश’ निर्वाचित भएको जनाइएको छ ।

टीकापुर नगर कार्य समिति अध्यक्षमा धनसिंह साउँद, भजनी नगर कार्य समिति अध्यक्षमा जगत विक, मोहन्याल गाउँ कमिटी अध्यक्षमा देवीदत्त उपाध्यया ‘हिमशिखर’, कैलारी गाउँ कमिटी अध्यक्षमा बतासु थारू ‘अभिषेक’, बर्दगोरिया गाउँ कमिटी अध्यक्षमा रामकृष्ण डङ्गौरा थारू ‘रन्जित’ चयन भएको जनाइएको छ ।

त्यसैगरी जानकी गाउँ कमिटी अध्यक्षमा कृष्ण सोडारी, चुरे गाउँ कमिटी अध्यक्षमा ठाडा मगर र जोशीपुर गाउँ कमिटी अध्यक्षमा दीर्घ विनाडी निर्वाचित भएका छन् ।

प्रत्येक पालिकामा भएको दोस्रो सम्मेलनले १३ वटै स्थानीय तहमा नयाँ कार्य समिति चयन गरेको सो पार्टीका रेबन्त बोहराले जानकारी दिए । पालिका स्तरीय सम्मेलन अघि माओवादी केन्द्रले हरेक पालिकाको प्रत्येक वडामा वडा स्तरीय सम्मेलन गरेको थियो ।

Loading...