बाल कलाकार सचिन परियारको बिहीबार बिहान महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको छ । अस्पताल स्रोतका अनुसार स्वास्थ्य समस्या देखिएपछि पुस ६ गते अस्पताल भर्ना गरिएका सचिनको केही दिन देखि आइसीयूमा उपचार भइरहेको थियो ।
गुल्मी निवासी १३ वर्षीय सचिन सामाजिक सञ्जालबाट भाइरल भई चर्चामा आएका थिए । भाइरल भएपछि उनले गीत गाउनाका साथै म्युजिक भिडियोमा अभिनय गरेर दर्शकहरूको मन जितेका थिए । सचिनको पार्थिव शरीरलाई बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
सचिनको निधनप्रति थुप्रै कलाकारहरूले सामाजिक सञ्जाल मार्फत शोक व्यक्त गरेका छन् । उनीहरूको निधनले नेपाली कलाकारिता क्षेत्रमा ठूलो क्षति पुगेको प्रतिक्रिया व्यक्त गरिएको छ । सचिनले कम उमेरमै नेपाली मनोरञ्जन क्षेत्रमा उल्लेखनीय योगदान दिएका थिए । उनको आत्माले शान्ति पाओस् ।