गड्डाचौकीमा ५ लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ

अत्तरिया- सशस्त्र प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट श्रोत नखुलेको ५ लाख भारतीय रुपैयाँ सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति भीमदत्त नगरपालिका–६ ऐठपुरका २८ वर्षीय नवराज जैशी हुन् ।

सशस्त्र प्रहरीका अनुसार पुस १३ गते साँझ भारतबाट नेपालतर्फ आउँदै गरेका जैशीलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको हो । उनलाई चेकजाँच गर्दा ५ लाख भारतीय रुपैयाँ फेला परेको थियो । पाँच सय दरका १ हजार नोट रहेको रकमको श्रोत खुलाउन नसकेपछि जैशीलाई पक्राउ गरिएको हो ।

बरामद गरिएको रकम सहित पक्राउ परेका जैशीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि कोहलपुरस्थित राजस्व अनुसन्धान कार्यालयमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको सीमा सुरक्षाका लागि गरिएको चेकजाँच अभियानका क्रममा यस्तो रकम फेला परेको हो । यसले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायको सक्रियता थप बलियो बनाएको देखिन्छ।

Loading...