पूर्व मन्त्री रानाको भविष्यवाणी, माधवको अवस्था सिपीको भन्दा खराब हुन्छ





अत्तरिया, ७ भदाै– नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य नारद मुनि रानाले माधव नेपालको अवस्था सिपी मैनालीको भन्दा पनि खराब हुने बताएका छन् ।


एमालेको गोदावरी नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दे पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका कैलालीका इन्चार्ज रानाले एमालेलाई घात गरेको बताउँदै उनले नेपालको भविष्यवाणी गरेका थिए ।


‘माधव नेपालको अवस्था अब सिपी मैनाली भन्दा पनि खराब हुन्छ’ उनले भने ‘माधवले जनतालाई र पार्टीलाई ठूलो धोका दिएका छन् ।’

रानाले नेकपा विभाजन गर्न लागेकाहरूले नै एमाले विभाजन गरेको आरोप लगाएका छन् । माधव नेपालले एमाले टुक्राएको भन्दै रानाले उनलाई गद्दारको संज्ञा समेत दिएका थिए । ‘आफू सूर्य चुनाव चिन्ह्रबाट निर्वाचित भएका माधव नेपालले रुखमा भोट हाले उनी गद्दार हुन्’ उनले भने ‘नेकपा विभाजित गर्नेहरूले नै एमालेमा पनि विभाजन गरेका हुन् । ’
एमाले कब्जा गर्ने रणनीति थियो त्यो पुरा नभएपछि पार्टी विभाजन गरेका हुन् । ‘जनताले सबे थाहा पाएका छन् । पद नपाएर पार्टी विभाजन गर्नेहरूको पछि कोही लाग्ने छैनन्’ रानाले भने ।
रानाले वर्तमान सरकार परमादेशले तयार भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई अहिले सम्मकै कमजोर प्रधानमन्त्री भएको रानाले बताए । उनले भारतको कम्फरटेबल सरकार भएको हुँदा दार्चुलामा तुइन चुटाएर बेपत्ता भएको विषयमा सरकार मौन रहेको समेत आरोप लगाए ।
कार्यक्रममा एमाले कैलालीका अध्यक्ष रतन थापा, उपाध्यक्ष रणबहादुर चन्द, सचिव दान बहादुर बिक गोदावरी नगर कमिटी अध्यक्ष गोकर्ण भट्ट, अनुशासन आयोगका केन्द्रीय सल्लाहकार डिल्लीराज भट्ट लगायतले मन्तव्य राखेका थिए । उनीहरुले एमालेको क्रियाकलाप बढाउन र निर्धातिर समयमै वडा देखि जिल्ला सम्मको अधिवेशन सक्न नवीकरणको काम टुङ्गाउन कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए ।



