तरकारी बिक्रीबाट दैनिक २ हजार आम्दानी गर्दै बिखलु

धनगढी- जिल्लाको धनगढी उपमहानगरपालिका–६ मटियारीका किसान बिखलु रानाले व्यावसायिक तरकारी खेतीबाट दैनिक २ हजार सम्म आम्दानी गर्दै आएका छन् ।

बीस वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका उनले अहिले करिब नौ कठ्ठा जग्गामा व्यावसायिक उत्पादन गरिरहेका छन् । सबै खर्च कटाएर तरकारी खेतीबाट वार्षिक ४ देखि ५ लाख सम्म आम्दानी हुने गरेको उनले जानकारी दिए ।

रानाले भने “तरकारी बिक्रीबाट प्रशस्त आम्दानी भइरहेकाले जीविकोपार्जनमा समस्या छैन । सानोतिनो समस्या पर्दा छरछिमेक र आफन्तलाई सहयोग गर्न पाएको छु, आफूले ऋण लिनुपरेको छैन । आठ जनाको परिवारको सबै खर्च बालबच्चाको पढाइलेखाइ यसैबाट चलेको छ ।” उहाँले मौसमी, बेमौसमी सबै किसिमका तरकारी लगाउने गरेको बताए ।

रानाका अनुसार बिक्री कम हुँदा दैनिक १ हजार ५ सय रुपैयाँ सम्म र बढीमा २ हजार रुपैयाँ सम्म आम्दानी भइरहेको छ । उहाँले भन्नुभयो, “तरकारीबाट दैनिक रूपमा आम्दानी लिन सकिने भएकाले जीविकोपार्जन र दैनिक खर्च सहजै टरेको छ । स्थानीयस्तरमा कृषि गरे मात्रै पनि मनग्ये आम्दानी गर्न सकिने मेरो अनुभव छ, मेरो मन्यता जग्गा बाँझो राख्नुहुँदैन भन्ने हो ।” मेहनत गर्न सके तरकारीखेतीबाट मनग्ये आम्दानी लिन सकिने उनको भनाइ छ ।

सोही ठाउँका बन्धु रानाले पनि तरकारीखेतीबाट सहजै जीविकोपार्जन भइरहेको बताए । आठ कठ्ठा जग्गामा ३५ वर्ष देखि व्यावसायिक तरकारी खेती गर्दै आउनु भएका बन्धुले सबै खर्च कटाएर वार्षिक ३ लाख रुपैयाँ सम्म आम्दानी हुने गरेको जानकारी दिए ।

भारतबाट आउने तरकारी सस्तोमा पाइने भएकाले उपभोक्ताले सस्तो मूल्यमा किन्ने भन्दै सोही कारणले बजारीकरणको समस्या रहेको बन्धुले बताए । “स्थानीय सरकारले भारतबाट आउने तरकारी रोक्नुपर्छ, यसरी यहाँका स्थानीय मर्कामा परिरहेका छन्”, उहाँले भन्नुभयो । समयमा मल पाउन सके तरकारीखेती गर्न अझै सहज हुने उनको भनाइ छ ।

पछिल्लो समय मटियारीका अधिकांश किसानले व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । यहाँका किसानका लागि तरकारीखेती जीविकोपार्जनको राम्रो स्रोत बनेको छ । तरकारीखेतीबाट घरव्यवहार चलाउन सहज भएको किसान बताउँछन् । रासस

Loading...