कैलालीमा बेपत्ता भएका ४ बालक भेटिए

धनगढी- कैलालीमा खेल्ने भन्दै घरबाट एक साथ निस्किएर बेपत्ता भएका चार जना बालक फेला परेका छन्। भजनी नगरपालिका–७ चर्राका १२ वर्षीय नितेश चौधरी, १० वर्षीय सुनिल चौधरी, ९ वर्षीय अस्मित चौधरी र ११ वर्षीय यज्ञ चौधरी बुधबार दिउँसो खेल्न भन्दै घरबाट साइकलमा निस्किएका थिए ।

दिउँसो २ बजे घरबाट गएका उनीहरु राति साढे ९ बजेसम्म घर नफर्किए पछि परिवारले प्रहरीलाई खबर गरेका थियो । इलाका प्रहरी कार्यालय भजनी, प्रहरी चौकी पृथ्वीपुरका १० जना प्रहरी र ३५ जना स्थानीयले रातभर उनीहरुको खोजी गरे ।

Dadeldhura hospital

तर कतै पनि फेला नपरेपछि राति १ बजे खोजी कार्य स्थगीत गरिएको थियो । पुनः बिहीबार बिहानैदेखि उनीहरुको खोजी थालिएको थियो । बिहीबार भने उनीहरु भजनी–९ को बिजुलियामा सकुशल फेला परेको प्रहरीले जनाएको छ ।

‘परिवारबाट सम्पर्क विहीन भएका चार जना मध्ये बिजुलियामा एक जनाको फूपुको घर रहेछ । राति उतै गएर बसेका रहेछन्,’ कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर विष्टले भने, ‘रातभर खोज्दा फेला नपरेका बालकहरु आज बिहान बिजुलियामा सकुशल भेटिएका छन् ।’

उनका अनुसार उनीहरु यज्ञको फूपु अस्मिता चौधरीको घरमा राति बसेको पाइएको छ । सकुशल भेटिएका बालकलाई परिवारको जिम्मा लगाइएको छ ।

Loading...