स्वास्थ्य आपूर्ति केन्द्रको मेडिकल वायर हाउस उद्घाटन

अत्तरिया- प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको स्वास्थ्य सामग्री भण्डारण भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उक्त भवनको उद्घाटन गरेको हो ।
कार्यक्रममा सामाजिक विकास मन्त्री मेघराज खड्का, राज्यमन्त्री सरस्वती खड्का तथा मन्त्रालयका सचिव र अन्य विशिष्ट कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन भवनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले यसले प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान दिने बताए । मुख्यमन्त्री शाहले भने, “यस भवनले सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सेवा अझ प्रभावकारी र व्यवस्थित बनाउन ठूलो भूमिका खेल्नेछ । यसले विशेष गरी दुर्गम र ग्रामीण भेगमा समयमै औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउन सहयोग पुर्‍याउनेछ । महामारीजस्ता आपत्कालीन अवस्थाहरूको व्यवस्थापनमा पनि यो भवन महत्वपूर्ण साबित हुनेछ ।’

उनले स्वास्थ्य सेवामा भएको यो सुधार प्रदेश सरकारको प्राथमिकतामा रहेको र आगामी दिनमा स्वास्थ्य क्षेत्रका अन्य परियोजनाहरू पनि अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेका थिए । यस्तै कार्यक्रममा सामाजिक विकास मन्त्री मेघराज खड्काले स्वास्थ्य सामग्री भण्डारण भवनले सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सेवामा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गरे ।

मन्त्री खड्काले भने, “यो भवनको निर्माणले प्रदेशका स्वास्थ्य संस्थाहरूमा आवश्यक सामग्री समयमै पुर्याउन मद्दत गर्नेछ । विशेष गरी दुर्गम भेगका जनताले अब गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुनेछ । यो पहल प्रदेशको स्वास्थ्य पूर्वाधार विकासमा एउटा कोसेढुङ्गा हो ।”

उनले प्रदेश सरकारको स्वास्थ्य सेवा सुधारका प्रयासलाई सफल बनाउन सबै क्षेत्रको सहकार्य आवश्यक रहेको भन्दै प्रदेशका जनताका लागि प्रभावकारी सेवा सुनिश्चित गरिने बताए । केन्द्रका कार्यालय प्रमुख जनकराज ढुङ्गानाले भवन निर्माणको आवश्यकता, यसको उपयोगिता, र भविष्यमा यसले जनताको स्वास्थ्य क्षेत्रमा पुर्याउने योगदानबारे प्रकाश पारेको थियो ।

कार्यालय प्रमुख ढुङ्गानाका अनुसार सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सामग्रीहरूको प्रभावकारी व्यवस्थापनको अभावका कारण धेरैजसो औषधि तथा सामग्री समयमै स्वास्थ्य संस्थाहरूमा पुर्‍याउन कठिनाइ हुने गरेको थियो । महामारी र अन्य आपतकालीन अवस्थामा स्वास्थ्य सामग्रीको भण्डारण र वितरणलाई द्रुत बनाउन यो भवन निर्माण कार्य अगाडि बढेको थियो ।

Loading...