आयल निगम प्रादेशिक कार्यालय धनगढीको डिपो कहाँ सार्ने भन्ने बिषय छलफलमै

धनगढी- नेपाल आयल निगम प्रादेशिक कार्यालय धनगढीको डिपो अन्तै सार्ने योजना छ । धनगढीको चटकपुर स्थित घना बस्तीको बिचमा रहेको निगमको डिपो सार्ने योजना पहिल्यै देखिको भए पनि काम भने हुन सकेको छैन । 

घना बस्तीको बिचमा रहेको डिपोका कारण वरपरका स्थानीय त्रासमा छन् । डिपो सार्न स्थानीयले पटकपटक आयल निगमसँग आग्रहसमेत गर्दै आएका छन् । बिच बस्तीमा रहेको डिपो सार्न धेरैपटक निगमसँग आग्रह गरिसकेको स्थानीय विष्णुदत्त खत्रीले बताए ।

धनगढीस्थित आयल निगमको प्रादेशिक डिपो कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित आइबिआरडीमा स्थानान्तरण गर्ने निगमको योजना छ । राष्ट्रिय आवास कम्पनीको २२ बिघा जग्गामा डिपो स्थानान्तरणको तयारी छ । तर त्यसका लागि ठोस पहल भने भइसकेको छैन । निगमले डिपो सार्न छनोट गरेको क्षेत्रमा पनि बाक्लो बसोबास छ । सो क्षेत्रमा पनि बस्ती बढ्दै गएको छ । 

डिपो सार्न छनोट गरिएको स्थान पुनर्वास नगरपालिका वडा नम्बर ३, ५ र ६ वडालाई छोएको छ । पुनर्वासमा आवास कम्पनीको नाममा करिब ७४ बिघा जमिन छ । त्यस मध्ये २२ बिघा जमिन किनेर डिपो स्थापना गर्ने निगमको योजना छ । धनगढी डिपोमा अहिले ८ सय ३० किलोलिटर पेट्रोल, १ हजार ५९० किलोलिटर डिजल र ७० किलोलिटर मट्टीतेल भण्डारण क्षमता छ ।

डिपोको पेट्रोल र डिजल भण्डारणले प्रदेशको बढीमा ७ दिन सम्मको माग धान्छ । कम्पतीमा ९० दिनलाई पुग्ने गरी नयाँ स्थानमा डिपो बनाउने निगमको योजना छ । भण्डारण क्षमता विस्तारका लागि डिपो सार्न लागिएको आयल निगमको प्रादेशिक कार्यालय धनगढीका प्रमुख हरिदत्त जोशीले बताए । 

यस अघि डिपो सार्न गोदावरी नगरपालिका–८ स्याउलेको शिवशक्ति महिला सामुदायिक वनको जग्गा पनि हेरेको थियो । तर आइबिआरडी सार्नेकी गोदावरी भन्नेमा अहिले नै एकीन भने भइनसकेको आयल निगमले जनाएको छ । ‘डिपो सार्ने विषयमा अहिले छलफल जारी नै छ ।

गोदावरी सार्ने की आइबिआरडी भन्ने विषयमा छलफल जारी नै भएकाले अहिले नै स्थान एकीनका साथ भन्न सकिने अवस्था छैन’, आयल निगम धनगढीका प्रमुख जोशीले भने ।

Loading...