

अत्तरिया- सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम साधारणतया बदली छ । त्यसैगरी कोसी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ ।


साथै सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा र हिमपात भइरहेको छ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।




आज दिउँसो र राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा बागमती र मधेस प्रदेशका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान, बागमती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
आज बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु रकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

