

धनगढी- सुदूरपश्चिम प्रदेशमा पुँजीगत बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि कुल १८ अर्ब ७६ करोड २४ लाख पुँजीगत बजेट विनियोजन गरेको छ । तर चालु आर्थिक वर्ष सुरु भएको पाँच महिना वितिसक्दा पनि पुँजीगत बजेट कार्यान्वयन ७ प्रतिशत पनि पुग्न सकेको छैन ।


यस्तै चालुतर्फको बजेट कार्यान्वयनको अवस्था पनि निराशाजनक देखिएको छ । चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख बजेट विनियोजन गरेकोमा कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ ।


अहिले सम्म कुल तीन अर्ब ३२ करोड ४३ लाख रुपैयाँ मात्र खर्च भएको पाइएको छ । आर्थिक वर्ष सुरु भएको दुई महिनापछि बजेट ल्याएको प्रदेश सरकारले बजेट खर्च बढाउन सकेको छैन ।


प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार हाल सम्म १० दशमलव ५१ प्रतिशत बजेट खर्च भएको छ । त्यस मध्ये पूँजीगत खर्च ६ दशमलव ८६ प्रतिशत मात्र छ । यो अवधिमा सरकारले पुँजीगत बजेटतर्फ एक अर्ब २८ करोड ७६ लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ । प्रदेश सरकारले चालुतर्फ एक अर्ब ७७ करोड ६४ लाख खर्च गरेको छ ।
कुल बजेटको ५९ दशमलव ३२ प्रतिशत पूँजीगत तर्फको बजेट छ । आर्थिक वर्ष सुरु भएको दुई महिनापछि गत असोज ६ गते सुदूरपश्चिम प्रदेश सभाबाट प्रदेश सरकारको बजेट पारित भएको थियो । ढिलोगरी बजेट आएकाले अधिकांश योजनाहरु कार्यान्वयनमा जान सकेका छैनन् । जसले गर्दा बजेट खर्च पनि न्यून देखिएको हो। यस वर्ष बजेट खर्च घट्ने देखिएको छ ।
प्रदेश सरकारले असार १ गते प्रदेश सभामा बजेट पेश गर्ने र सभाले असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। तर यसअघिको सरकार अल्पमतमा परेपछि सदनमा पेश गरेको बजेट पारित हुन सकेको थिएन ।
बजेट पारित हुन नसक्दा साउन १ गतेदेखि प्रदेश बजेट विहीन अवस्थामा गएको थियो । काँग्रेस–एमाले समीकरणसँगै नयाँ सरकार गठन भएपछि आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले अघिल्लो सरकारले ल्याएको आकारकै बजेट भदौ ३१ गते प्रदेश सभामा पेश गरेका थिए ।

