मोटरसाइकल दुर्घटनामा कमेडीयन महराको निधन

कैलाली- कैलालीको गोदावरीमा भएको मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने व्यक्ति कमेडी च्याम्पियन सिजन २ का सहभागी हिक्मत महरा भएको पुष्टि भएको छ ।

मंगलबार साँझ गोदावरी मन्दिर जाने बाटो नजिक म २ प ९११७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेका महराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा निधन भएको हो । महरा कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–१ का स्थायी बासिन्दा थिए, तर हाल गोदावरी–४ मा बस्दै आएका थिए ।

हिक्मत महरा नेपाली हास्यव्यंग्य क्षेत्रका उदाउँदै गरेका प्रतिभा थिए । उनी कमेडी च्याम्पियन सिजन २ मा आफ्नो प्रस्तुतिका कारण लोकप्रिय बनेका थिए । उनको असमयिक निधनले नेपाली मनोरञ्जन क्षेत्र र उनका प्रशंसकलाई शोकाकुल बनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार महरा गोदावरीबाट अत्तरिया तर्फ जाँदै गर्दा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको छ ।

Loading...