एनपीएल : जनकपुरलाई हराउँदै सुदूरपश्चिम शीर्षस्थानमा

नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्टसलाई हराउँदै सुदूरपश्चिम रोयल्स शीर्षस्थानमा उक्लिएको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार बिहान भएको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको हो।

Ganyapdhura gau

सुदूरपश्चिमका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुरले सामान्य लक्ष्य पनि पूरा गर्न सकेन। यससँगै जनकपुरको जितको शृंखला रोकिएको छ।

Navadurga sun
Godawari sandesh

सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर ५१ रनमै मेटियो। जनकपुरका लागि जसुवा ट्रम्पले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्। जनकपुरका तीन खेलाडी त शून्यमै आउट भए।

Dadeldhura hospital

सुदूरपश्चिमका लागि हरमित सिंह, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले दुई-दुई तथा सैफ जैब, नरेन साउँद र स्कट कगेलिनले एक-एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले नौ विकेटको क्षतिमा १२३ रन बनाएको थियो। सुदूरपश्चिमका प्रारम्भिक ब्याटर विनोद भण्डारी र सैफ जैबले राम्रो शुरूआत गरे पनि निरन्तरता पाउन सकेनन्। भण्डारीले ३३, जैबले २१, इशान पाण्डेले १७ र ब्रान्डन म्याकमुलनले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

जनकपुरका बलरले राम्रो प्रदर्शन गरेका थिए। जनकपुरका लागि किशोर महतोले चार, शेर मल्ल र अरनिको यादवले दुई-दुई तथा हर्ष थाकरले एक विकेट लिएका थिए।

यो जितसँगै सुदूरपश्चिम अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। पाँच खेलमा चार जितसहित सुदूरपश्चिमको आठ अंक भएको छ। आठ अंक नै भए पनि यो हारले रनरेटमा तल पर्दै जनकपुर दोस्रो स्थानमा झरेको छ।

दुई खेल बाँकी छँदै लुम्बिनी लायन्स प्रतियोगिताबाट बाहिरिसकेको छ। लुम्बिनीले पाँच मध्ये चार खेल हारेको छ भने एक खेल मात्रै जितेको छ। आजै दिउँसो लुम्बिनीले काठमाडौं गुर्खाजसँग प्रतिस्पर्धा गर्दै छ।

Loading...