पहिरोले सानीगाड थुनियो, तटीय बस्ती जोखिममा





बझाङ,४ भदौ- बुधबारदेखिको निरन्तरको वर्षापछि खसेको पहिरोले बझाङको बुङगल नगरपालिका भएर बग्ने सानीगाड नदी थुनिएको छ । नगरपालिकाको वडा नम्बर ७ मा पर्ने महादेव माध्यमिक विद्यालय नजिकैबाट खसेको ठूलो पहिरोले नदी थुनिएपछि बाढी आउने डरले स्थानीयबासी त्रसित भएका छन् ।
साबिक कफलसेरी गाविसमा पर्ने गिठिने भीरबाट शुक्रबार बिहान पहिरो खसेको प्रत्यक्षदर्शी राकेश सिंहले बताए । पहिरोले थुनिएको ठाउँ भन्दामाथि ताल बन्न लागेको र ताल फुटेमा नजिकै रहेको कफलसेरी बजार तथा सानीगाड र कालङ्गा नदीको तटीय क्षेत्रमा रहेका बस्तीमा बाढी आउने जोखिम बढेको उनले बताए । ‘सानीगाड हाइड्रोको ड्याम साइटतिर जाने सडक पनि पहिरोले पूरै लगेको छ,’ उनले भने, ‘डाँडै भत्किएर आएको छ । अहिले पनि लगातार पहिरो झरिरहेको छ ।’
नगर प्रमुख धनबहादुर विष्टले सानीगाड र कालङ्गा नदी छेउछाउका बस्तीमा जोखिम भएकाले सतर्कता अपनाउन आग्रह गरिएको र पहिरो पन्छाएर नदीको निकास खुलाउने प्रयास भइरहेको बताए ।



