बैतडी- बैतडीमा शारीरिक अशक्तता तथा अपाङ्गता भएका नागरिकलाई अब घरमै पुगेर नागरिकता प्रदान गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालयले सञ्चालन गर्न लागेको ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रमअन्तर्गत उमेर पुगे पनि शारीरिक अशक्तता तथा अपाङ्गताका कारण नागरिकता लिन प्रशासन कार्यालयसम्म पुग्न नसकेका नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरिने भएको हो।

प्रमुख जिल्ला अधिकारी मीना अर्यालका अनुसार यसका लागि जिल्लाका १० वटै स्थानीय तहलाई शारीरिक अशक्तता तथा अपाङ्गता भएका नागरिकको विवरण सङ्कलन गरी पठाउन भनिएको छ। स्थानीय तहबाट विवरण प्राप्त भएपछि सम्बन्धित पालिकासँगको समन्वय र सहकार्यमा नागरिकको घर वा पायक पर्ने स्थानमै पुगेर आवश्यक प्रक्रिया पूरा गरी नागरिकता प्रदान गरिनेछ।
“सबै स्थानीय तहबाट अशक्त तथा अपाङ्गता भएका नागरिकको विवरण माग गरेका छौँ,” प्रजिअ अर्यालले भनिन्, “विवरण आएपछि उनीहरूको घर तथा पायक पर्ने स्थानमा पुगेर प्रक्रिया पूरा गरी नागरिकता प्रदान गर्छौं।”
प्रशासन कार्यालयसम्म पुग्न कठिन हुने, हिँडडुल गर्न नसक्ने तथा शारीरिक रूपमा अशक्त नागरिकलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न लागिएको प्रशासनले जनाएको छ।
घरमै नागरिकता प्राप्त गर्ने सुविधा सुरु भएपछि नागरिकता बनाउन कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हट्ने र अशक्त तथा अपाङ्गता भएका नागरिकलाई राज्यबाट प्राप्त हुने सेवा–सुविधामा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ।
