धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य हुन सके मात्रै नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी संघीयताको कार्यान्वयन हुने बताएका छन्।
नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा आयोजना गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री भट्टले संविधानमा व्यवस्था गरिएका अधिकार र प्रावधानको प्रभावकारी कार्यान्वयन गर्दै आपसी सहकार्यबाट संघीयतालाई सफल बनाउनुपर्नेमा जोड दिए।

उनले प्रदेशको विकास र समृद्धिका लागि स्थानीय तहसँगको सहकार्य अपरिहार्य रहेको बताए। स्थानीय तहका समस्या, आवश्यकता र सुझावलाई प्रदेश सरकारले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सबै तहका सरकार मिलेर अघि बढ्नुपर्ने धारणा राखे।
“प्रदेशको विकास र समृद्धिका लागि स्थानीय तहसँगको सहकार्य अपरिहार्य छ। स्थानीय तहका समस्या, आवश्यकता र सुझावलाई प्रदेश सरकारले प्राथमिकताका साथ सम्बोधन गर्छ। त्यसका लागि सबै मिलेर अगाडि बढौँ,” मुख्यमन्त्री भट्टले भने।
कार्यक्रममा संघीयताका जानकार खिमलाल देवकोटाले प्रदेश र स्थानीय तहबीचको समन्वय तथा सहकार्यले शासन प्रणालीलाई थप सुदृढ बनाउने बताए। उनले स्थानीय तहका आवश्यकता र प्राथमिकतालाई प्रदेश तथा संघीय सरकारका नीति तथा कार्यक्रमसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए।
उनका अनुसार तीनै तहका सरकारबीच स्पष्ट समन्वय, जिम्मेवारीको प्रभावकारी कार्यान्वयन र साझा प्राथमिकताका आधारमा अघि बढ्न सके संघीयताको उद्देश्य हासिल गर्न सहज हुनेछ।
