कञ्चनपुरमा अझै आएन मल




कञ्चनपुर : धान रोपाइँका बेलादेखि मलको अभाव झेलिरहेका कृषकहरूले अझै पाउन सकेका छैनन् । जिल्लामा मल आपुर्ती गर्दै आएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङका गोदाम अहिले पनि रित्ता छन् ।


रोपाइँका बेला डीएपी र त्यसको २०र२५ दिनमा युरिया आवश्यक पर्छ । तर यहाँका कृषकले न रोपाइँका बेला डीएपी पाएन नत रोपेपछि युरिया नै । अहिले धान पसाउने तथा फूल लाग्ने बेला हुन थालेको छ । यतिबेला पनि कृषकहरूले मल पाउने सम्भावना छैन ।



‘हामीसँग मल नै छैन, कहाँबाट उपलब्ध गराउनु,’ कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगरका प्रमुख बलबहादुर शाहले भने, ‘अलिअलि आएको युरिया एकरदुई दिनमै सकिन्छ ।’ उनका अनुसार पछिल्लो पटक आएको ४२० बोरा युरिया पनि लगभग सकिन लागेको छ ।
विगतमा पनि छिटफुट मात्रामा युरिया आउने भए पनि किसानका आवश्यकताअनुसार नआएको शाहले बताए । उनका अनुसार पछिल्लो पटक भैरहवाबाट मल ढुवानी हुन समस्या देखिएपछि कञ्चनपुरका ८ स्थानीय तहमा रहेका सहकारीहरूले भैरहवाबाट ३ सय ३ टन डीएपी ल्याउन लागेका छन् । ‘खरिद प्रक्रिया सबै पूरा भइसकेको छ, अब ढुवानीको काममात्रै बाँकी छ,’ शाहले भने, ‘हप्तारदस दिनमा डीएपी आउँछ होला ।’
अबको केही दिनमा धान पसाउन सुरु हुन्छ । त्यतिबेला युरिया र पानी आवश्यक हुन्छ । युरिया र पानी दुवै उपलब्ध गराउन सके २०र२५ प्रतिशत उत्पादन बढाउन सकिने कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा। दिलबहादुर विष्टले बताए । ‘फ्लावरिङ स्टेजमा मल र सिँचाइ दुवै उत्तिकै आवश्यक हुन्छ,’ उनले भने, ‘त्यो हुन सकेन भने उत्पादनमा ह्रास आउँछ ।’ उनले बाली राम्रो भए पनि अहिलेको समयमा मल र सिँचाइ नदिन सके कुनै फाइदा नहुने बताए ।
कञ्चनपुरमा करिब ५० हजार हेक्टरमा धानखेती गरिन्छ । यसबाहेक जिल्लाका विभिन्न स्थानमा केराखेती पनि भइरहेको छ । केरा खेतीका लागि समेत युरिया, डीएपी र पोटास आवश्यक हुन्छ । तर समयमै मल नपाउँदा केराको उत्पादनमा समेत ह्रास आउने कृषकहरू बताउँछन् ।



