धनगढी- धनगढीमा बुधबार साँझ संयुक्त सवारी चेकजाँचका क्रममा मोटरसाइकलले ठक्कर दिँदा तीन जना प्रहरी घाइते भएका छन्।
घाइते हुनेमा प्रहरी हवलदार उज्जवल सिंह साउद, सहायक हवलदार राधिका शाही र प्रहरी जवान कमला खत्री रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार उनीहरूलाई धनगढीस्थित नवजीवन अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

ट्राफिक प्रहरीसँगै नेपाल प्रहरीको पेट्रोल पम्प नजिक संयुक्त सवारी चेकजाँचमा खटिएका उनीहरूलाई कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का आशिष चौधरीले चलाएको से ३ प ८९५० नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार चालकले मादक पदार्थ सेवन गरी तीव्र गतिमा मोटरसाइकल चलाइरहेका थिए। चेकजाँचका क्रममा मोटरसाइकल रोक्न खोज्दा उनले प्रहरीलाई ठक्कर दिएका हुन्।
दुर्घटनामा घाइते प्रहरी हवलदार साउदलाई आईसीयूमा राखेर उपचार भइरहेको छ। सहायक हवलदार खत्रीको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ। उनको पनि उपचार भइरहेको छ भने अर्की घाइते प्रहरी सहायक हवलदार शाहीको जनरल वार्डमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
तीनै जना प्रहरी धनगढीस्थित गणमा कार्यरत रहेका थिए। उनीहरू थप मद्दतका लागि संयुक्त चेकजाँचमा खटिएका थिए।
मोटरसाइकल चालक चौधरीलाई प्रहरीले बुधबार साँझ नै नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
