

धनगढी- कैलालीको धनगढीमा पाँच जना युवक लागूऔषध सहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले लागूऔषध सहित पाँच जना युवकलाई नियन्त्रणमा लिएको हो ।



धनगढी उपमहानगरपालिका–१३ का १९ वर्षीय निरज राना, २१ वर्षीय सुनिल राना, धनगढी–२ का २३ वर्षीय रोशन खड्का, धनगढी–३ का २१ वर्षीय अमित शर्मा र १६ वर्षीय एक किशोरसहित तीन जना लागुऔषधसहित पक्राउ परेका हुन् । पक्राउ परेका युवकहरुलाई प्रहरी कार्यालय पुगाइएको छ ।


धनगढी–१३ का निरज रानाले चलाएको से ७ प ६३५९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकल पछाडी सवार २१ वर्षीय सुनिल रानासँग ५ ग्राम ८४० मिलिग्राम लागूऔषध फेला परेपछि दुबै जनालाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले धनगढी–३ भन्सार कार्यालय नजिकबाट नियन्त्रणमा लिएको हो ।
यसैगरी धनगढी–२ रामजानकी मन्दिर नजिकबाट २३ वर्षीय रोशन खड्का, धनगढी–३ का २१ वर्षीय अमित शर्मा र १६ वर्षीय एक किशोर पनि एक ग्राम १५० मिलिग्राम लागूऔषध सहित पक्राउ परेका छन् । लागूऔषध सहित से ५ प ४१२६ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।





