

बैतडी- बैतडीमा अटो दुर्घटना हुँदा गर्भवति महिलासहित चार जना घाइते भएका छन् । महाकाली राजमार्ग अन्तरगत दोगडाकेदार गाउँपालिका ३ श्रीकोट खोचलेक नजिक अटो दुर्घटनामा परेको हो ।


सिल्लेगडाबाट खोचलेक तर्फ जाँदै गरेको सुप प्र ०१–००१ ह ६०७० नम्बरको अटो साढे १२ बजे क्वालिटी मोडमा दुर्घटना हुँदा चार जना घाइते भएका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए।



दुर्घटनामा परी दोगडाकेदार गाउँपालिका २ कि २५ पार्वती जोशी, सोही ठाउँकि ४५ वर्षीया बसन्ती जोशी, अटो साहु समेत रहेका २५ वर्षीय राजेन्द्र भाट,पुर्चौडी नगरपालिका ९ का २० वर्षीय हिरा सार्की रहेका छन् ।
घाइतेमध्ये पार्वतीको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परी घाइते भएका चारै जनाको उद्धार गरी जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको प्रहरी प्रवक्ता ढुंगानाले बताए ।
अटो चालक दार्चुला शैल्यशिखर ९ का २२ वर्षीय उमेश साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाग्रस्त अटो सडकबाट १०० मिटर तल खसेको छ ।
अटो आफैं अनियन्त्रित भएको दुर्घटना भएको प्रहरीको भनाई छ । अटोमा चालकसहित पाँच जना सवार रहेको बुझीएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

