सुदूरपश्चिममा दशैँका लागी ११ हजार प्रहरी परिचालन

धनगढी- दशैँ–तिहार तथा छठ पर्वलाई लक्षित गरेर सुदूरपश्चिम प्रदेशमा ११ हजार जना प्रहरी परिचालन गरिने भएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीले चाडपर्व मध्यनजर गरि बनाइएको सुरक्षा योजनाअनुसार प्रदेशभर सामान्य समयको भन्दा चार हजार जना थप प्रहरी परिचालन गरिने भएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले चाडपर्वका बेला हुनसक्ने सुरक्षा चुनौतीको मसिनो विश्लेषण गरेर सोहीअनुसार थप प्रहरी जनशक्ति परिचालन गरिएको जानकारी दिए । डीआईजी केसीले सामान्य समयमा प्रदेशभर सात हजार प्रहरी कर्मचारी परिचालन हुने गरेको बताए ।

Navadurga sun
Godawari sandesh

तर कार्यालयभित्रको काममा खटिने, प्रदेश सशस्त्र प्रहरी गण, संघीय प्रहरी कार्यालय लगायतका कार्यालयका प्रहरीलाई समेत गरि थप चार हजार जनालाई फिल्डमा खटाउने गरि योजना बनाइएको उनले बताए । ‘हामीले प्रदेशको सुरक्षा चुनौती राम्रोसँग विश्लेषण गरेका छौँ ।

त्यो चुनौती सामना गर्नेगरी प्रहरी जनशक्ति परिचालनको योजना पनि बनाइएको छ,’ डीआईजी केसीले भने, ‘नियमित समयमा परिचालन हुने भन्दा चार हजार जना थप प्रहरी परिचालन गरेका छौँ ।’ प्रदेश प्रहरी कार्यालयले विगतमा चाडपर्वमा कुन ठाउँमा के–कस्ता अपराधिक गतिविधि भए भन्ने कुराको पनि विश्लेषण गर्दै यो वर्ष पुनः त्यस्ता क्रियाकलाप हुन नदिनेगरी योजना बनाइएको जनाएको छ ।

Dadeldhura hospital

चाडपर्वका बेला सीमा नाकामा हुने चोरी, तस्करी, ठगी तथा लुटपाट जस्ता घटना हुन नदिने सीमा क्षेत्रमा छुट्टै प्रहरी टोली परिचालन गरिनेछ भने सवारी दुर्घटना न्यूनीकरणका लागि चेकिङ्क बढाउने, जनचेतनामुलक सन्देश प्रवाह गरिनेछ ।

‘चाडपर्वका बेला ठूलो संख्यामा भारतबाट फर्किने नेपाली दाजुभाइ दिदीबहिनी ठगिने, लुटिने, सिमा नाकामा हैरानी पाउने गुनासो सुनिने गरेको छ,’ डीआईजी केसीले भने, ‘नाकामा नेपालीहरुले सास्ती भोग्न नपरोस् भनेर निगरानी बढाइनेछ ।’ उनकाअ नुसार प्रत्येक जिल्लामा प्रहरी प्रमुखको नेतृत्वमा चाडपर्व लक्षित सुरक्षा योजना लागु हुनेछ ।

सबै जिल्लामा पिकेट, पैदल गस्ती, मोबाइल गस्ती, नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त चेकजाँच गर्ने कार्यलाई समेत निरन्तर सञ्चालन गरिने उनले जानकारी दिए । डीआईजी केसीले प्रदेशभर जिल्लासहित ९९ कमाण्ड पोष्ट रहेको बताए । यस्तै, २०६ जनाको रिजर्व टोली, १६० जना स्ट्राइकिङ्क टोली, पाँच सय ५३ जनाको पिकेट पाँच सय ९९ जनाको पैदल गस्ती, दुई सय ५० जनाको मोबाइल गस्ती, दुई सय ६५ जना सीमा नाका र सादा पोशाकका प्रहरी सुरक्षामा खटिने उनले बताए ।

जुवातास नियन्त्रणका लागि दुई सय ५० जनाको छुट्टै टोली बनाइएको छ भने राजमार्ग क्षेत्रमा स्कटिङ्क र तत्काल परिचान हुनेगरि थप दुई सय ५० जनाको छुट्टै टोली समेत बनाइएको छ । प्रदेशभर शान्ति, सुव्यवस्था चुस्त, दुरुस्त पारेर आम नागरिकलाई ढुक्कसँग चाडपर्व मनाउने वातावरण बनाउने प्रयासमा आ–आफ्नो पक्षबाट सहयोग गर्न समेत प्रदेश प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

समस्या परेको अवस्थामा जुनसुकै बेला जिल्लादेखि प्रहरी चौकीसम्ममै प्रहरी परिचालन हुने व्यवस्था मिलाइएको प्रहरी प्रहरी कार्यालयले जनाएको छ । ‘यो वर्षको दशैँतिहारमा कुनै पनि घटना नहोस् भन्ने हेतुले हामीले सुरक्षा व्यवस्था मजबुत बनाएका छौँ,’ डीआईजी केसीले भने, ‘प्रदेशबासीलाई ढुक्कसँग यो चाडपर्व उल्लासमय बनाउनुहोस्, आफन्त र आफनाहरुसँग खुसी साट्नुहोस् भन्न चाहान्छु ।

कुनै समस्या परे तत्काल प्रहरीलाई खबर गर्नुहोस् जिल्लादेखि चौकीसम्म जुनसुकै समयमा रेस्पोन्स हुन्छ ।’ प्रहरीले चाडपर्वका बेला जनचेतना अभिबृद्धि, कानुनी कारवाही सशक्त बनाउने नीति समेत लिएको छ ।

Loading...