धनगढी- धनगढीका मेयर गोपाल हमालले कैलालीको गेटामा निर्माण भइरहेको सहिद दसरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका बारेमा संसदमा आवाज उठाई दिन राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेलाई आग्रह गरेका छन ।
धनगढी उपमहानगरले नियमित रुपमा गर्दै आएको स्वागत तथा सम्मान कार्यक्रमका लागि रास्वपाका अध्यक्ष लामिछाने सोमबार अपरान्ह धनगढी उपमहानगरपालिकाको कार्यालय पुगेका थिए । कैलालीको गेटामा हिद दसरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणको ९८ प्रतिसत निर्माण सम्पन्न भएको छ भने सरकारले त्यहाँ झण्डै ७ अर्व लगानी गरिसकेको छ ।
सहिद दसरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य सूचना तथा प्रविधि समितिमा दफावार छलफलका लागि पठाईएको छ । २०८० को माघ २४ गते प्रतिनिधि सभामा टेबुल भएको उक्त विधेयक उपर खासै छलफल हुन सकेको छैन ।
उक्त समितिका रास्वपाका डाक्टर तोसिमा कार्की र सुमना श्रेष्ठ सदस्य छन । ‘धनगढी उमपहानगरपालिकाको एक मात्र अनुरोध के हो भने गेटामा निर्माण भइरहेको मेडिकल विश्वविद्यालयको कुरा सदनमा उठाई दिनुस । यहाँका जनताले ठगेको महसुस गरिरहेका छन ।
औषधी नपाएर मर्नु परेको अवस्था छ । सरकारीमा २५ सयमा हुने उपचार प्रायभेटमा २५ हजार खर्च भइरहेको छ । मेडिकल विश्वविद्यालयको विधेयक शिक्षा समितिमा गएर अडकिएको छ । त्यसलाई छिटो ल्याउन पहल गरिदिनुस’ मेयर हमालले लामीछानेलाई अनुरोध गरे ।
जवाफमा लामिछानेले सुदूरपश्चिमका जनताको स्वास्थ्य र शिक्षासँग जोडिएको उक्त विधेयकका लागि सदनमा कुरा उठाउने प्रतिवद्धता ब्यक्त गरेका छन ।