काठमाडौँ । गत जनवरीयता देशभर तीन हजार ५३६ जनामा स्क्रब टाइफस पुष्टि भएको एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । इडिसिडीको किटजन्य शाखाका अनुसार पछिल्लो समय डेंगु र हैजासँगै स्क्रब टाइफसको संक्रमण पनि बढेको हो ।



हाल मकवानपुर, चितवन, धादिङ, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा स्क्रब टाइफसका बिरामीको संख्या बढी देखिएको शाखाले जनाएको छ ।



पछिल्ला वर्ष स्क्रब टाइफसबाट प्रभावितको संख्या पाँच हजारभन्दा बढी पुग्ने गरेको छ । संक्रमणका कारण ज्वरोलगायतका लक्षण देखिए पनि हालसम्म स्क्रब टाइफसका कारण मृत्यु भने पुष्टि भएको छैन ।
सामान्यतया, स्क्रब टाइफस स्क्रब ओरिएन्टिया सुत्सुगामुसी नामक ब्याक्टेरियाबाट लाग्ने किटजन्य रोग चिकित्सक गोकर्ण दाहाल बताउँछन् ।
उनका अनुसार स्क्रब टाइफस एक खालको किर्नाको माध्यमबाट मानिसमा सर्ने गर्छ । घाँसेमैदानमा मुसा प्रजातिमा हुने किर्नाहरूको टोकाइबाट मान्छेमा सर्ने गरेको उनले बताए ।
‘किर्नाहरू कुनै माध्यमबाट मान्छेको खुट्टामा लागेर टोकेपछि संक्रमण देखिने भएकाले कुनै विशेष ठाउँमा एकैपटक उच्च संक्रमण हुँदैन । तर, पछिल्ला वर्षहरूमा वर्षायाममा धेरै जिल्लामा यो ब्याक्टेरियल संक्रमण देखिन थालेको छ,’ डा.दाहालले भने । स्क्रब टाइफस लक्षणहरूको उपचारबाट निको हुने गरेको छ ।

