एयर होस्टेज माथि दुर्व्यवहार गर्दा एक युवक पक्राउ,  मन लाग्यो जिस्काइएदिए

अत्तरिया- धनगढी विमानस्थलबाट श्री एयरलाइन्सको विमान उडानका क्रममा एयर होस्टेज माथि दुर्व्यवहार गरेको भन्दै एक युवकलाई पक्राउ गरिएको छ । मंगलबार बेलुका उनलाई नियन्त्रणमा लिइएको हो ।

विमानस्थल प्रहरी स्रोतका अनुसार मंगलबार साँझ ४ बजेको श्री एयरलाइन्स काठमाडौं-धनगढी उडान नम्बर २२५ मा एयर होस्टेज माथि दुर्व्यवहार भएको हो । एयर होस्टेज बस्ने स्थान नजिकैको सीटमा परेका कैलालीको गोदावरी नगरपालिका-१ का शिवराज ओझाले एयर होस्टेजलाई अभद्र व्यवहार गरेको बताइन्छ ।

स्रोतका अनुसार उनले होस्टेजतिर आफ्नो खुट्टाहरु तानेका थिए । त्यसपछि होस्टेजले क्याप्टेनलाई रिपोर्ट गर्दै क्याप्टेनले प्रहरीलाई धनगढी अवतरण भएलगत्तै रिपोर्ट गरेपछि शिवराजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंबाट ढिलो गरि उडेको श्रीएयरको विमान साँझ ५ बजेर ५० मिनेटमा धनगढी विमानस्थलमा अवतरण गरेको थियो । अहिले एयरलाइन्सका कर्मचारी माथि अभद्र व्यवहार गरेको आरोपमा शिवराजलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

मन लाग्यो एयरहोस्टेजलाई जिस्काइएदिए
श्रीएयरलाइन्सको विमान उडानका क्रममा एयरहोस्टेज माथि दुर्व्यवहार गरेका गोदावरीका शिवराज ओझाले मन लागेर जिस्काएको प्रहरीको वयानमा बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका १७ वर्षीय ओझाले प्रहरीलाई बयान दिँदै जिस्काउने मन लाग्यो त्यसैले जिस्काइ दिएको हुँ भनेका छन् ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले सोधपुछका क्रममा युवकले मन लागेकाले जिस्काएको बयान दिएको बताए ।
उनका अनुसार श्रीएयरलाइन्सले आफ्नो एयरहोस्टेज माथि दुर्व्यवहार गर्ने ओझालाई कारवाहीको माग गर्दै निवेदन दिएको छ । पक्राउ परेका उनी नाबालक हुन् ।

प्रहरीले किटानी जाहेरी नै मागेको छ । प्रहरीका अनुसार ओझाले विमान भित्र सिट बेल्ट नबाँध्ने देखि एयरहोस्टेजलाई जिस्काएर अवरोध सिर्जना गरेका थिए ।

Loading...